
जनकपुरधाम- मधेश प्रदेशमा प्रदेशसभाको दोस्रो अधिवेशन असोज २३ गते बोलाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएपछि मधेश सरकारको सिफारिसमा प्रदेश प्रमुुखको कार्यालयले औपचारिक पत्र पठाएपछि दोस्रो अधिवेशन आव्हान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
चालु आर्थिक वर्षको बजेट पारित भएपछि गत असार ३१ गते दोस्रो कार्यकालको पहिलो अधिवेशन अन्त्य भएको दुई महिना २३ दिन पछि मधेश प्रदेशसभाको बैठक बस्न लागेको हो ।
मधेश सरकारले पहिलो अधिवेशनबाट आर्थिक विधेयक, बजेट विनियोजन विधेयक र ऐनहरुको संशोधन गर्न बनेको विधेयक पारित गराएका थिए । भने विभिन्न विषयगत समितिमा चारवटा विधेयक दफाबार छलफलकै क्रममा रहेको जनाइएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनासँगै मधेश प्रदेशलाई चुस्तदुरुस्त र समृद्ध बनाउनका लागि न्युनतम १ सय १५ वटा कानुन निर्माण गर्नुपर्ने प्रदेश सरकारले पहिचान गरेको थियो ।
मधेश प्रदेशको पहिलो मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले ५७ वटा मात्रै कानुन बनाउन सकेको थियो । भने दोस्रो कार्यकालको ६१ घण्टा चलेको प्रथम अधिबेशनको ३६ पटक बसेको बैठकबाट मुख्यमन्त्री सरोजकुमार यादवले दुई पटक विश्वासको मत लिइसकेका छन् ।