महोत्तरी — नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। पछिल्लो पटक मूल्य समायोजन गरेको ११ दिन नबित्दै निगमले बुधबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको हो।
यसअघि निगमले चैत १ गते मूल्य समायोजन गरेको थियो। नयाँ मूल्यअनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ कायम गरिएको छ। डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ तोकिएको छ। यससँगै काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ पुगेको छ।



निगमका अनुसार पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज परेका छन् भने दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल डिपो समेटिएका छन्।
अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भइरहेकाले आन्तरिक बजारमा पनि समायोजन गर्नुपरेको निगमले जनाएको छ। मार्च १ देखि २४ तारिखसम्म पेट्रोल खरिद मूल्यमा प्रतिलिटर ७६ रुपैयाँ र डिजेलमा १४३ रुपैयाँसम्म वृद्धि भएको निगमको भनाइ छ।





