
धनुषा- मधेश प्रदेश सरकारले फेरि मन्त्रालय फुटाएको छ । प्रदेश सरकारले शिक्षा तथा सामाजिक कल्याण मन्त्रालय फुटाएर सातौं पटक मन्त्री परिषद् पुनर्गठन गरिएको छ।
चार महिनादेखि विना विभागीय मन्त्री रह्नु भएको जसपाका सुरिता साहलाई दिन सो मन्त्रालय फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालय बनाइएको छ ।
जनमतको भागमा रहेको शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएर मन्त्री परिषद पुर्नगठन गरिएको हो ।सुरिता साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र जनमतका संसदीय दलका नेता महेश प्रसाद यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेबारी दिइएको छ । यादव शिक्षा तथा समाज कल्याण मन्त्रालयका मन्त्री हुनुहुन्थ्यो ।
बिना विभागीय मन्त्री साह मुख्यमन्त्री कार्यालय मै जिम्मेबारी विहीन अवस्थामा हुनुहुन्थ्यो। महोत्तरी क्षेत्र नं. २ (ख)बाट प्रत्यक्ष स्वतन्त्र चुनाव जित्नु भएको साहलाई जसपाले पार्टी प्रवेश गराएर सरकार गठनको बेला सामाजिक विकास मन्त्रालय दिएको थियो । पछि मन्त्रालय फुटाउँदा मुख्यमन्त्री सरोजकुमार यादवले उहाँलाई जिम्मेबारी बिहीन बनाउनुभएको थियो ।
मधेश सरकारको पहिलो गठनको बेला मुख्यमन्त्री सहित सात मन्त्रालय मात्र थियो । जसपा विभाजनको बेला तत्कालिन मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालय फुटाएर १० वटा पुर्याउनुभएको थियो । गत वैशाखमा शक्ति सन्तुलन मिलाउ मन्त्रालयहरु फुटाएर नयाँ नाम कायम गरी समायोजन गरेर १० वटा नै राखिएको थियो ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रबार विज्ञप्ति जारी गरि कार्यविभाजन सार्वजनिक गर्नुएको छ।