
जनकपुरधाम- हिन्दू पात्रोअनुसार असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने मिथिलाका नारीहरुको कठोर जितिया पर्व आज सकिँदैछ। बिहीबारदेखि सुरु भएको यो पर्व आज विहान पूरा हुन लागेको हो ।

ज्यातिषशास्त्रअनुसार महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ । यो व्रत बस्दा सन्तान प्राप्तिका साथै सन्तानलाई दुःख, पीडा र समस्याबाट जोगाउँछ भन्ने विश्वास गरिन्छ । जितियालाई जीवितपुत्रिका व्रत पनि भनिन्छ ।
महिलाहरु व्रतको विधि पालना गर्दै बिहीबार नजिकैको पोखरी तथा तलाउमा नुहाएर घिरौलाको पातमा, तोरीको तेल, सिन्दूर, तोरीको पीना (खैर), मेहन्दीको पात, फूलआदि चढाएर विधिपूर्वक नहाय खाय गरेका छन् । उपवासको पूर्वसन्ध्यामा मध्यरातमा खाने खाना दही च्युउरासँगै माछा र मरुवा अनिवार्य खाने चलन छ । शुक्रबार बिहान ४ बजेवाट निराहार बसी शनिबार विहान १० बजेपछि नवमी तिथी प्रारम्भ भएसँगै उपवास तोडेपछि जितिया व्रत सम्पन्न हुने जनकपुरधामकी व्रतालु महिला गीता देवी झाले बताइन् ।

थारू समुदायमा विशेष मानिने जितियाको उपवास बस्ने महिलाहरू सन्तान तथा सौभाग्य समृद्धिको निम्ती जिमुतवाहन देवतालाई समर्पण गरी फलफूलले डाली भर्ने कथा सुन्ने गरिन्छ ।

शनिबार विहानै पुनः केराको पातमा दही च्यूउरा, फलफूल चढाएपछि घिरौलाको पातबाट सुरु भएको जितिया केराको पातमा गएर सम्पन गरिने चलन रहँदै आएको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरकी व्रतालु अनिता यादवको भनाइ छ ।
क्षीरेश्वरनाथ नगरपालिका-६ पण्डित इन्द्रकान्त झा सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व रहेको बताउँछन् ।

पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैंले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् । मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रुपमा मानिन्छ ।
उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खड् जितिया पनि भनिन्छ । फेरि एक पटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदैनन् ।
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातजनै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिन देखि शालिवहानलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ ।
जीवनमा एक पटक टुटेपछि पुनः गर्न नपाइएने हुँदा हत्तपत महिलाले यो पर्व अँगाल्दैनन । तर मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले जीवनमा यो पर्व अपनाउनै पर्ने चलन छ ।