
जनकपुरधाम -जनकपुरधाम विमानस्थलकाे धावनमार्गमा अनाधिकृत व्यक्तिहरु प्रवेश गरेको भन्दै सुरक्षा निकायलाई विमान कार्यालयले पत्र लेख्न लागेको बताएका छन् ।
जनकपुरधाम विमानस्थलका प्रमुख भीम दत्त पन्तले धावनमार्ग सम्म नै अनाधिकृत व्यक्तिहरु प्रवेश गरेको भन्दै सुरक्षा निकायलाई पत्र लेख्न लागेको बताए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वागतमा एमाले कार्यकर्ताहरु धावनमार्गमै पुगेका थिए । यति एयर चढेर जनकपुरधाम पुगेका ओलीलाई स्वागत गर्न उनीहरु विमानको ढोकासम्मै पुगेका थिए ।
अतिथिलाई स्वागत गर्न भीआईपी कक्ष र धावन मार्ग बाहिरै पाँचजना मात्र जान पाउने नियम भए पनि नेता कार्यकर्ताले नियम मिचेकाे उनले गुनासो गरे ।
यो घटनाले हवाई सुरक्षाको उल्लंघन भएको भन्दै सुरक्षा निकाय, सुरक्षा गार्डलाई पत्र लेख्न लागेको विमानस्थल प्रमुख पन्तले बताए ।
यस विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेसित कुरा गरेको भन्दै प्रमुख पन्तले धावन मार्गमै पुगेर राजनीतिक दलका नेता कार्यकर्ताले स्वागत गर्ने प्रवृति गलत रहेको बताए । आज प्रहरी र कर्मचारीले रोक्दा रोक्दै धावनमार्गमा कार्यकर्ता पुगेका हुन्। । हवाई सुरक्षा उल्लंघन गरेकाले सुरक्षा निकाय, सुरक्षा गार्डलाई पत्र लेख्न लागेका छौं,’ उनले भने ।