धनुषा । लगातार भइरहेको वर्षाका कारण कमला नदी तथा आसपासका तटीय क्षेत्रमा बाढीको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले असोज ११ गतेसम्म उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
वर्षाका कारण नदीको जलस्तर बढ्न सक्ने र तटीय क्षेत्रमा जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला विपद् कमाण्ड पोस्टका अधिकारी, स्थानीय तहका प्रमुख तथा प्राविधिक कर्मचारीसहितको टोलीले कमला नदी र आसपासका तटीय क्षेत्रको स्थलगत अनुगमन गरेको छ।



अनुगमनका क्रममा नदीको वर्तमान अवस्था, तटीय क्षेत्रको जोखिम तथा सम्भावित विपद्को अवस्थाबारे जानकारी लिनुका साथै उद्धार, राहत र पूर्वतयारीका विषयमा छलफल गरिएको सिँचाइ मन्त्रालयका वरिष्ठ इन्जिनियर सुरेशकुमार मण्डलले जानकारी दिनुभयो।
उहाँका अनुसार सम्भावित विपद्लाई मध्यनजर गर्दै नेपाली सेनासहित जिल्लामा रहेका चारवटै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ। उद्धार तथा राहत कार्यका लागि आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधनसमेत तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले असोज ८ देखि ११ गतेसम्म वर्षाका कारण नदी तथा तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।
उहाँले नदी किनार, डुबान तथा कटानको जोखिम रहेका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा नदीको बहाव र जलस्तरमा असामान्य वृद्धि भएमा तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गर्नुभएको छ।
प्रशासनले सम्भावित विपद्को जोखिम रहेका स्थानीय तहलाई समेत पूर्वतयारी अवस्थामा रहन तथा सुरक्षा निकाय र सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्न निर्देशन दिएको छ।
कमला नदीको जलस्तरमा हुने परिवर्तनबारे नियमित निगरानी राख्दै आवश्यक परेमा तत्काल उद्धार तथा राहत परिचालन गर्ने गरी संयन्त्र तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ।




