
जनकपुरधाम- जनकपुरधाममा पोखरीमा डुबेर एकै घरका दुई बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जनाए अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका-२४ बस्ने अलिहसन अंसारीका जुम्ल्याहा छोराहरू ९ वर्षीय मोहमद अल्कामा अंसारी र मोहमद अब्दुल अंसारी रहेका छन् ।
शनिबार साँझ जनकपुर २४ बसहियास्थित गोगल प्रसाद नमुना मावि अगाडि रहेको पोखरीमा नुहाउने क्रममा दुबै बालकको मृत्यु भएको धनुषा प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए।
बालकहरू पोखरीमा डुबेको खबर प्राप्त हुनासाथ जिरोमाईल स्थित प्रहरी चौकीबाट खटिइ गएको प्रहरी टोलीले उद्धार गरेर उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा पुर्याएका थिए । यद्यपी उपचारको क्रममा दुबै बालककोे मृत्यु भएको डीएसपी गौतमले बताए।
मृतक बालकहरुको शव अस्पतालमै रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।