बेचन महताे
समग्र हिन्दु संस्कृति अहिले दशैको माहोलमा रमाएको छ । असत्य माथि सत्यको जित भएको यर्थातमा रमाउदै विजयादशमीको प्रतिक्षामा छौ हामी सम्पूर्ण सनातनवादी हिन्दुहरु । विजयादशमीको दिन अझ हर्षोउल्लासका साथ रावणको पुतला पनि दहन गर्ने गर्दछौ । यहि अवसरमा यदि हामीले रावणको चारित्रिक आत्मन्थन गर्ने हो भने विजयादशमीको दिन रावणलाई होईन, उनको खराव आचरणलाई जलाउने गरिएको अनुभुति गर्न सक्नु पर्दछ ।
हाम्रो महान ग्रन्थ रामायणमा रावणलाई प्रतिपक्षीको रुपमा चित्रण गरिएको बुझ्न सकिन्छ तर रावणमा केही यस्ता विशेषताहरु थिए जुन पौराणिक मानिन्छन् । सुन्दा आश्चर्य लाग्न सक्ला तर रावणमा जति सुकै दुष्टता किन नहोस, उनलाई आज पनि महान पण्डित भनेर बुझ्ने गरिन्छ । उनमा भएको केहि महान गुण जुन सवै मानवमा हुनु पर्ने अपेक्षा राखिन्छ । यस लेखमा केहि यसता जिवन उपयोगी शिक्षाहरुको वारेमा प्रकाश पार्ने प्रयास गरिएको छ जुन रामायणमा गलत पात्रको रुपमा परिचित रावणवाट हामीले सिक्न सक्नु पर्दछ ।
१. शिक्षाको शक्ति
लंकेश अर्थात रावण ब्रह्मा (ब्रह्माण्डको निर्माता) को पनाती तथा ऋषी पुलस्त्य (ब्रह्माद्वारा निर्मित दश प्रजापति मध्ये एक) को नाती थिए । उनको जन्म ऋषी विश्रवा र उनको दोश्रो श्रीमती कैकसीको सन्तानको रुपमा भएको थियो ।
तत्कालिन समयमा रावण पृथ्वीको सवै भन्दा ज्ञानी मध्येका एक मानिन्थे । रावण चार वेदः ऋगवेद, यजुरवेद, सामवेद र अथर्ववेदका ज्ञाता मानिन्थे । उनलाई ज्योतिष विद्या र चिकित्सा क्षेत्रमा समेत महाज्ञानीको रुपमा चिन्ने गरिन्छ । रावण संहिता र अर्क प्रकाशमको श्रेय समेत उनै लाई दिईने गरिन्छ । अतः रावण निहित शिक्षाको गुणलाई विस्तार गर्ने प्रयोजनार्थ विजयादशमीको पुनित अवसरमा हामीले प्रण लिन सक्दछौ ।
२. परिवार प्रति प्रेम
यद्यपी माता सिताको अपहरण गर्नु रावणको महाभुल थियो तर यो कदम रावणले आफ्नो वहिनीको सम्मानको खातिर गरेका थिए । रामायण कथामा रावणकी वहिनी शूर्पणखाको नाक काटिएकोले उनले आफनो अपमान भएको जिकिर दाजु रावण सँग गरेकी थिईन । यसै कारण रावणले राम सँग प्रतिशोध राखी सिताको अपहरण गरेका थिए । यहाँ रावणको यस कदमलाई कदापी सहि भन्न सकिदैन, अपहरण गर्नु पाप भएकोमा दुई मत त छैन तर आफ्नो परिवार उपरको धरातलिय जिम्मेवारी वोधको रावण निहित पारिवारीक प्रेमको विशेषतालाई अनुकरणिय भन्न सकिन्छ । पारिवारीक प्रेमले हामीलाई हाम्रो पहिचान पनि दिने गर्दछ ।
३. नारीलाई सम्मान गर्नु पर्दछ
हरेक नारीलाई गलत नियतले हेर्न वन्द गर्नु पर्दछ । नारीको भावनालाई सम्मान गर्न पर्दछ । हिन्दु पौराणिक कथा अनुसार जव रम्भा एक पवित्र उत्सवमा भाग लिन कैलाशमा गएकी थिईन तव राक्षस राजा रावणले उनलाई त्याहाँ देखेका थिए । रावण रम्भाको सुन्दरता उपर मोहित भई आफ्नो वासना पुरा गर्न रम्भा सँग भेट्न थालेको प्रसँग उल्लेख छ । सोही प्रसँगमा रावणले रम्भा सँग कुनै पनि नारीको सहमति वेगर यदि आफुले उनलाई छोएमा आफ्नो मृत्यु होस समेत भनेका थिए ।
४. नेतृत्व
रावण एक वहुतै कुशल र न्यायप्रिय शासक रहेको स्वीकारोक्ति वाल्मिकी रामायणले समेत गरेको छ । उनको शासनकालमा लंकालाई सुनको लंका भनिने गरिन्थ्यो । त्यो वेलाको लंका स्वणर्िम र समृद्ध थियो । रावणले राक्षस राजा सुमालीको सेनाको नेतृत्व सम्हालेका थिए र लंकामा स्वणर्िम शासन स्थापित गरेका थए । हिन्दु पौराणिक कथा अनुसार लंकाको निर्माण स्वयं वस्तुकारीमा सर्वश्रेष्ठ विश्वकर्माले गरेका थिए । यहाँ उठान गर्न खोजिएको प्रसँग के हो भने रावण एक जिम्मेवारी वोध भएका राजा थिए जसले आफ्नो प्रजालाई राम्ररी देखभाल गर्ने गर्दथ्यो । प्रजामा सुखानुभुति थियो । यस मानेमा रावणको नेतृत्व शिक्षाप्रद हुन सक्दछ ।
५. व्यक्तिगत अहंकारले स्वयंलाई विनाश गर्दछ
एक अतृप्त र सर्वग्राही अहंकार नै रावणको कठोरता रहेको थियो जसले उसको सवै दिव्य गुणलाई निस्तेज पारेको थियो । यहाँ के उल्लेख गर्न खोजिएको हो भने व्यक्ति चाहे सर्व वा वहुगुण सम्पन्न किन नहोस, थोरै मात्रको चारित्रिक कमजोरी वा चारित्रिक बिचलनले व्यक्तिलाई विनाश वा पतनको मार्ग प्रशस्त गर्ने गर्दछ ।
रावणको हारको मुख्य कारण नै उनको अहंकार थियो । भाई बिभीषणले रावणलाई अहंकार र अभिमान त्याग्न दिने गरेको सुझावलाई वेवास्ता गर्ने गर्दथे । रावणको अहंकारले नै उनमा प्रतिशोधको भावना जागृत गराएको थियो जसका कारण माता सिताको अपहरण गर्न मजवुर भएका थिए र अन्ततः भगवान रामले रावणका विनाश गरेका थिए । अतः पदिय जिम्मेवारी अनुसारको आचरण आवश्यक छ, अहंकार रहित व्यवहार अपेक्षित छ । आफ्नो गल्तिवाट शिक्षा लिदै सुधारको बाटोमा अगाडी बढ्नु नै आजको आवश्यकता हो ।
६. गोपनियता कायम राख्न सक्नु पर्दछ
व्यक्तिगत कम्जोरी कसैलाई भन्नु हुदैन । गोप्य कुरा सदैव गोप्य राख्न सक्नु पर्दछ । नितान्त व्यक्तिगत गोपनियता त झन आफ्नो नातागोताको लाई समेत भन्नु हुँदैन । लंकापति रावणले आफ्नो कमजोरी आफ्नो साख्खे भाई विभीषणलाई भनेका थिए जो पछि गएर भातृत्व विश्वासवाट विमुख भएका थिए । रावणले यसलाई आफ्नो जिवनको सवै भन्दा ठुलो भुल भएको स्वीकारेका थिए । राम-रावण युद्धको १० औ दिन विभीषणले नै रामलाई रावणको नाईटोमा तीर हान्न सुझाएका थिए । यस अर्थमा राक्षस राजाको वधको कथाले आफ्नो कम्जोरी कसै सँग साझेदारी गर्न नहुने शिक्षा लिन सकिन्छ ।
(नोटः यस लेखले रावणको महिमामंडन गर्न खोजेको कदापी होईन । लेखको मुख्य उदेश्य भनेको रावणवाट सिक्न सकिने केही जिवन उपयोगी शिक्षाको बारेमा चर्चा गर्नु हो ।)
लेखक महताे नेपाल मधेशी निजामती कर्मचारी मञ्च महासचिव हुन् ।




