
नेकपा एमाले मधेश प्रदेश अधिबेशनको बैधतामाथी प्रश्न नै प्रश्न उठेका छन ।
गत असोज २५ र २६ गते भएको अधिबेशनलाई लिएर पाटीभित्रैका जिम्मेवार नेताहरुले विधि र प्रक्रियाको विषयमा प्रश्न उठाएका हुन ।
नेकपा एमालेको प्रथम मधेस प्रदेश अधिवेशनको क्रममा पाँच पदाधिकारी सहित २३५ सदस्यीय समिति चयन गर्नको लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो ।
निर्वाचन कमिटीले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहीबार साँझ साढे ५ बजे मतदाता नामावली प्रकाशन, साँझ ८ बजे मतदाताको अन्तिम नामावली प्रकाशन हुने र राती ९ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता, दाबी विरोधपछि उम्मेदवारको अन्तिम नामावली २६ गते विहान १० बजे प्रकाशन गर्ने र २६ गते शुक्रबार ११ बजेदेखि मतदान गर्ने समय तोकिएको थियो ।
यो सब बाहिर देखाउनको लागि रचिएको नाटक थियो । आन्तरिक रुपमा केहि मुख्य नेताहरुले पदाधिकारी बाहेकका पदमा मात्र मनोनयन दर्ता गर्न पाइने भनेर उर्दी जारी गरे ।
यद्यपी २३० सदस्य पदको लागि ४ सय बढी ले उम्मेदवारी दर्ता गराए । यता पदाधिकारीका आकांक्षीहरुलाई उम्मेदवारी दर्ताबाट बन्देज लगाइएको थियो । कारण अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना उपसचिव को लागि केन्द्रिय नेता तथा पोलिट ब्युरो सदस्यहरुले भागबन्डामा तय गर्ने आन्तरिक तयारी गरिएको थियो । जसमा मधेस प्रदेश इन्चार्ज तथा केन्द्रिय सचिव योगेश भट्टराई निकट पोलिट ब्युरो सस्दय लिला श्रेष्ठले अध्यक्ष, केन्द्रिय सचिव रघुबिर महासेठले उपाध्यक्ष, पोलिट ब्युरो सदस्य पुरुषोत्तम पौडेलले सचिव, निवर्तमान मधेस प्रदेश सहइन्चार्ज रेवती पन्तले एक उपसचिव र पोलिट ब्युरो सदस्य जुली महतोले एक उपसचिव लिने गरि भागबन्डा मिलाएको एमाले भित्र कै नेताहरुको दाबि रहेको छ।
बुधवार देखि सुरु भएको अधिवेशनमा शुक्रबार बिहानदेखिको कसरतपछि महासेठ र श्रेष्ठ समूहबाट बाँडफाँटका आधारमा पदाधिकारीहरू सर्वसम्मत भएका हुन् । यो सहमतिमा अध्यक्ष केपी शर्मा ओलीले पनि सहमत जनाएको स्रोतको भनाइ छ ।
यसरी गरिएको भागबन्डा अनुसार चन्देश्वर मण्डल पार्टी केन्द्रीय सचिव एवं मधेश इन्चार्ज योगेश भट्टराई नजिकका पोलिटब्यूरो सदस्य लीलानाथ श्रेष्ठ समूहबाट, महासेठ समूहबाट अर्का अध्यक्ष दाबेदार विचारी यादवले सहमतिमा उपाध्यक्ष, सचिवका उम्मेदवार मनोज पौडेल पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, उपसचिव आरती भण्डारी निवर्तमान मधेश सहइन्चार्ज रेवती पन्त र मोहम्मद कैस पोलिब्युरो सदस्य जुली महतो निकट रहेको एमाले भित्र कै नेताहरुको दाबि छ । असन्तुष्ट पक्षहरुले नेताहरुले आफ्नो एस म्यान र चाकडी चापलुसी गर्नेहरुलाई पद दिएको आरोप समेत लगाएका छन् । राम्रा, बुझ्ने र राजनीतिक सुझबुझ भएका कार्यकर्ताहरुलाई अगाडि नबढ्न दिने षडयन्त्र अन्तर्गत मधेस प्रदेशका नेतृत्व चयन गरिएको एमाले निकट धेरैजसो नेताहरु समाजिक संजाल मार्फत नै असन्तुष्टी जाहेर गरेका छन्।
त्यसैगरी सदस्यहरुमा समेत आफ्ना नजिक रहेकाहरुलाई यी नेताहरुको सिफारिसमा छनौट गरिने सहमती भएअनुसार गरिएको आरोप छ।
लोकतान्त्रिक प्रकृया पद्धतीको धज्जिया उडाउँदै पहिले आकांक्षीहरुलाई ५ पदाधिकारीको लागि उम्मेदवारीबाट बञ्चित गराइयो र सदस्य पदमा ४ सय बढीले उम्मेदवारी दिएकाहरु मध्ये कसैको उम्मेदवारी पनि फिर्ता नगर्न लगाई सिधै आफू खुशी लिस्ट जारी गरेर २३० सदस्यहरुलाई सर्बसम्मत निर्वाचित घोषणा गरिएको आरोप निवर्तमान प्रचार विभाग प्रमुख सोमप्रसाद शर्माले लगाए । उनले आफू पनि सचिव पदको आकांक्षी रहेकामा प्रकृयामा नै प्रवेश गर्न नदिएर घेरा बन्दी गरिएको आरोप समेत लगाए ।
शर्माले समाजिक संजाल फेसबुकमा स्टाटस ने लेखेर असन्तुष्टी पोखेका छन्। उनले समाजिक संजालमा “ हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले )मधेश प्रदेशको प्रथम अधिवेशन उत्साहजनक रुपले संचालन भयो ,यश क्रममा विविध आरोहहरुका वावजुद नेतृत्वको समझदारीमा कुशल वैचारिक नेता कमरेड चन्देश्वर मण्डल अध्यक्ष रहने गरी उहाँको नेतृत्वमा कमिटी छनौट भएको छ,उहाँ लगायत छनौट हुनुहुने सम्पूणर् सदस्य तथा पदाधिकारी कमरेड हरुलाइ हार्दिक बधाई भन्न चाहन्छु। यश कमिटीले पार्टीले खाचो महशुस गरेको राजनीतिक तथा बैचारिक स्खलन,सांगठनिक अराजकता र नेताहरू बिच झागिदै गएको समुहगत संक्रिणतालाई परास्त गर्दै विधि संगत ढंगले पार्टी परिचालन गर्ने नीति तर्जुमा गरि क्षमता ,योगदान र कार्यकर्ताले निर्वाह गरेको भुमिकाका आधारमा जिम्मेवारी दिने परम्पराको विकास गर्न सकोस् ।अधिवेशनले बेवास्ता गरेको र नेतृत्वले अधिवेशन प्रतिनिधिहरुलाई बन्द सत्रमा गर्न नसकेको अनुशिक्षण /प्रशिक्षण ,नीतिगत पक्ष ,नेतृत्व छनौट गर्दा पुर्वघोषित मिसन ग्रासरुटमा परिचालित नेता कार्यकर्ताहरुको मुल्यांकनका विषय कमिटीहरुमा गहन समिक्षाका विषयहरु हुन् । यी यावत् पक्ष सगं अन्तरघुलन जरुरी छ। सतही रुपमा हामी अघि बढ्न सक्दैनौं हामी वर्गीय आंदोलनले स्थापित गरेको दल हौ ,सामन्तहरु हाम्रा वर्ग सत्रु हुन् । यसर्थ माक्सवादी दृष्टिकोण र जनताको बहुदलीय जनवाद मार्गदर्शक सिद्धान्त हो । हामी बहुदलीय प्रतिस्पर्धामा छौ । अवको अपरिहार्यता जनताको बीचमा स्थापित र संभावनायुक्त वैचारिक नेतृत्व हो ।अन्यथा हामी पछुताउनु वाहेक बिकल्प नदेखिन सक्दछ । यस दिशातर्फ हाम्रो ध्यान जान जरुरी छ। हामी भुइँ मान्छेहरु यहाँहरुका राम्रा कामहरुको प्रोत्साहन ,पृष्ठपोषण दिन चुक्ने छैनौ। तथापि पार्टीले परिकल्पना गरेको घोषित लक्ष्य मिसन २०८४ लाई सार्थक तुल्याउन नेतृत्व सफल बनोस् ।”
घोषणापत्र तयार गरेर गुपचुप राखेको, अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव बाहेक अन्य सदस्यहरूमा आफूखुसी गरेको जस्ता आरोपहरू अहिले सतहमा देखिएका छन ।
जिम्मेवार नेताहरूले सदस्यहरूको बैधतामाथी प्रश्न उठाएपछि मधेशमा एमालेभित्रको आन्तरिक विवाद छताछुल्ल भएको छ ।
‘न प्रतिवेदन प्रस्तुत गरिएको छ, न आन्तरिक छलफलमा नेताहरूलाई सहभागी गराइएको छ ‘। एक जना पूर्व मधेश प्रदेश कमिटी सदस्यले भने । ‘सवैजनालाई घर पठाई केही नेताहरु बसेर सदस्यहरु टुंग्याए रे भन्ने सुनेको छु ।’
पानीभित्रका इमानदार र जिम्मेवार नेताहरूलाई पाखा लगाई शीर्ष नेताहरूको नजिक र चाप्लुसी गर्नेहरूलाई कमिटीमा ल्याएको प्रदेशस्तरीय नेताहरूको आरोप छ ।
‘यसले पाटीलाई बलियो बनाउनुको सट्टा थप कमजोर बनाउन सक्छ ।’ एक जना नेताले भने । पाटीमा कुनै योगदान नै नभएकाहरूलाई सर्वसम्मतको नाम दिएर आफूखुसी गर्नुलाई कसरी मान्नु र ?
तर अधिवेशनका मुख्य निर्वाचन अधिकृत टिकाध्वज खड्काले पाटीको विधि र प्रक्रियाअनुसार नै अधिवेशन सम्पन्न भएको दावी गरेका छन् ।
‘अब नेताहरु धेरै भएको पाटीमा त्यो खालको केही असन्तुष्टिहरू आउनु स्वभाविक पनि हो ।’ निर्वाचन अधिकृत खड्काले भने । मनोनितको नाम बाहेक पाटीबाट सर्वसम्मत भएका सबैजनाको नाम टाँस गरिएको छ ।
अहिले ५ जना पदाधिकारी सहित २३५ जना सदस्यलाई सर्वसम्मत निर्वाचित गरेको एमाले मधेशले जनाएको छ । तर ५ जना पदाधिकारी बाहेक सदस्यहरूमा सर्वसम्मत नभएको नेताहरूको जिकिर छ ।
‘बरु हामी निर्वाचन प्रणालीबाट गएको भए मान्थ्यौ तर नेताहरुका नजिक भएका आधारमा मूल्यांकन गर्नु त्यो गलत भयो’ । पाटीका अर्का पूर्व मधेश प्रदेश कमिटी सदस्यले भने । ‘पाटीका लागी नै रगत पसिना भिजाएका साथीहरूको लागी अन्याय भएको छ ।’
पुर्व उपाध्यक्ष रेवती पन्तले विधि र प्रक्रियाअनुसार नै अधिवेशन भएको बताउँदै केही त्रुटि भएको हुनसक्ने बताए । ‘अब बिस्तारै असन्तुष्टि सेलाएर जान्छ अनि पाटी पुनः चलायमान हुनेछ ।’ उनले विश्वास व्यक्त गरे ।
यता नवनिर्वाचित प्रदेश अध्यक्ष चण्डेश्वर मण्डलले भने एमालेभित्र देखिएको असन्तुष्टिलाई छिट्टै सावधान गर्ने बताएका छन् ।
अधिवेशनमा सदस्य नाम छान्ने क्रममा पनि प्रत्येक जिल्लाका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै बैठक बसेर सर्वसम्मतमा नै टुंग्याएको बताउँदै अध्यक्ष मण्डलले छुटेका साथीहरुलाई १० प्रतिशतमा समेटने बताए ।
‘विधानअनुसार १० प्रतिशत मनोनित गर्न पाउने व्यवस्था छ । उनले भने । यसबाट पनि केही असन्तुष्टिहरू समाप्त हुनेछन् ।’
उनले पाटीले अगाडि सारेको मिसन २०८४ अभियानमा विचलित नहुने र उद्देश्यप्राप्ति गरेर नै छाडने जिकिर गरे ।
यता रेवती पन्त पक्षधरहरू पाटी कै कारण अख्तियारले अधिवेशनको अघिल्लो दिन मुद्दा दायर गरेको आरोप लगाएका छन् ।
पुर्व उपाध्यक्ष समेत रहेका पन्त अध्यक्षको दौडमा थिए । अख्तियारले झलनाथ खनाल स्वास्थ्य प्रतिष्ठानमा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेपछि अध्यक्षको दौडबाट उनी पछाडि हटेका हुन् । उनको मुद्दा दायरलाई पनि उनी पक्षधरहरूले आशंका कै रुपमा हेरेका छन् ।
१० प्रतिशत मनोनित गर्ने व्यवस्थामा पाटीले सन्तुलन नबनाए थप असन्तुष्टिहरू सतहमा आउने आकलन गरिएको छ । तर थप असन्तुष्टिहरू आउन नदिने र नेता, कार्यकर्ताहरूको गुनासोमा आफू दृढ रहेको नवनिर्वाचित अध्यक्ष मण्डलले आश्वस्त बनाएका छन् । तर एमाले मधेसभित्र देखिएको असन्तुष्टिलाई नेताहरूले सम्बोधन गर्न नसके परिस्थिति आकलन गरेभन्दा फरक बन्न सक्ने खतरा बढेको छ ।
को हुन् प्रदेश अध्यक्ष मण्डल
स्थानीय तहको निर्वाचन (०७९)मा गाउँपालिका अध्यक्षमा पराजित भएका सिरहाका चण्डेश्वर मण्डल एमालेको मधेश प्रदेश कमिटीको अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।
सिरहाको अर्नमा निवासी मण्डल एमाले सिरहाका निवर्तमान अध्यक्षसमेत हुन्।

चार दिनसम्म जनकपुरमा चलेको एमालेको प्रथम अधिवेशनले मण्डलको अध्यक्षतामा सर्वसम्मत रुपमा दुई सय ३५ सदस्यीय प्रदेश कमिटी चयन गरेको छ।
अध्यक्षमा चयन हुने मण्डल सिरहाको अर्नमा गाउँपालिका निवासी हुन्। मण्डल पार्टीको लो प्रोफाइलमा बस्न रुचाउने नेताको रुपमा चिनिन्छन्।
०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी एमालेको तर्फबाट अर्नमा गाउँपालिकाको अध्यक्षको उम्मेदवार थिए। निर्वाचनमा उनी जसपाका उम्मेदवारसँग पराजित बनेका थिए।
त्यतिबेला अर्नमा गाउँपालिकाको अध्यक्षमा विजयी हुने जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अशोककुमार यादवले ३ हजार २ सय ३३ मत प्राप्त गर्दा मण्डलले २ हजार ८ सय १० मत प्राप्त गरेका थिए।
पार्टीका आन्तरिक कार्यक्रम बाहेक जिल्लाका सार्वजनिक कार्यक्रममा पनि त्यति नदेखिने मण्डल एमालेको लो प्रोफाइलमा बस्न रुचाउने नेताको रुपमा परिचित छन्।
पाको उमेरका मण्डल पञ्चायतकालदेखि नै एमालेको राजनीतिमा क्रियाशील थिए। पञ्चायतकालमा उनले सिरहामा भूमिगत भएर पनि पार्टी काम गरेका थिए।
एमालेका कतिपय नेता कार्यकर्ताले भने लो प्रोफाइल तथा वाकपटुता पनि नभएको मान्छेलाई प्रदेश अध्यक्षको जिम्मेवारी सुम्पिएको भनेर असन्तुष्टिसमते व्यक्त गरेका छन्।