
धनुषा- जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष १५ हजार २ सय ५१ बोकाको बली प्रदान गरिएको छ । गए राति ८ बजेर २० मिनेटमा सुरु भएको बोका बलि कार्यक्रम सोमबार बिहान ४ बजेसम्म चलेको थियो ।

गत वर्ष १४ हजार ९सय ४१ बलिप्रदान गरिएको थियो भने यस वर्ष ३१० बलि बढि प्रदान गरिएको छ ।
महाअष्टमीको साँझ राजदेवीमा बोका बलि दिने परम्परा छ । स्थानीय महावीर युवा कमिटी, गणेश युवा कमिटी, राम युवा कमिटीले बोका बलिको व्यवस्थापन गरेका थिए ।

महावीर युवा कमिटीका अध्यक्षा अजय गुप्ताले बोका बलिका लागि यसपालि ४ वटा अस्थायी ठेहा (बलि प्रदान स्थान) राखिएको जानकारी दिनुभयो । अध्यक्ष गुप्ताको अनुसार प्रत्येक ठेहाका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालित गरिएको थियो भने एक मिनेटमा एउटा ठेहामा ६ वटा गरी प्रतिमिनेट २४ वटा बोकाको बलिप्रदान भइरहेको थियो।
बलिप्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन ५ सयको संख्यामा स्वयंसेवक परिचालन गरिएको थियो । बोकाको लाइन सहित डोरी र व्यवस्थापनको लागि समेत प्रति ठेहा १० जना जनशक्ति खटाइएको थियो।

यस बर्ष जनकपुरधाम उपमहानगरपालिकाले चढाइएको बोकाको व्यवस्थापनका लागि प्लाष्टिकको बोराको व्यवस्था गरेका थिए । बोका चढाइएपछि सो बोरामा हालेर बोकाधनीलाई जिम्मा लगाउने व्यवस्था गरिएको श्री महाविर युवा कमिटिले जनाएको छ।
राजदेवी मन्दिरमा अघिल्लो केहि वर्षमा बोका बलि प्रदानको संख्या हेर्दा २०७९ मा १४ हजार ९सय ४१ बली प्रदान गरिएको थियो भने २०७८ सालमा १४ हजार ३ सय ६६ बोकाको बलिप्रदान गरिएको थियो । २०७७ सालमा ८ हजार ९ सय ६८, २०७६ सालमा १४ हजार ९ सय ९७, २०७५ सालमा १४ हजार ९ सय ९७, २०७४ सालमा १२ हजार ३ सय ७, २०७३ सालमा १४ हजार ६ सय १७, २०७२ सालमा १३ हजार ८ सय १, २०७१ सालमा १४ हजार ७ सय २२, २०७० सालमा १४ हजार ८ सय ६१, २०६९ सालमा १४ हजार ८ सय ६१, २०६८ सालमा १२ हजार ६ सय ५१, २०६७ सालमा १३ हजार ५ सय ५२ र २०६६ सालमा ११ हजार ७ सय ९३ बोकाको बलिप्रदान गरिएको थियो ।

निशा पुजा सम्पन्न भएपछि बोकाबली प्रदान गर्न प्रारम्भ हुन्छ । सो अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, जनकपुरधामका मेयर मनोज कुमार साह, निवर्तमान मेयर लालकिशोर साह, वर्तमान उपप्रमुख किशोरी साह सहितको उपस्थिती रहेको थियो ।