महोत्तरी - लगातार दुई दिनदेखिको अविरल वर्षाका कारण महोत्तरीको औरही नगरपालिका गम्भीर प्रभावित भएको छ। शुक्रबार रातिदेखि परेको लगातार वर्षाले विशेषगरी औरही नगरपालिका–२ फुलबरिया क्षेत्रमा करिब १५ घर पूर्ण रूपमा भत्किएर क्षतिग्रस्त भएका छन्।

जङ्गहा खोलाबाट बाढी पस्दा बस्ती डुबानमा परेपछि पीडित परिवारहरू खान बस्ने ठाँउविहीन बनेका छन्।त्यस्तै, औरही नगरपालिका–१ औरहीमा पनि गाउँभित्र पानी पसेर करिब ३ घर पूर्ण रूपमा प्रभावित बनेका छन्। दैनियाँ अवस्थामा पुगेका ती परिवारलाई तत्काल राहत स्वरूप सहयोग उपलब्ध गराइएको छ।

नगरपालिकाले आज बाढीपीडितलाई राहत वितरण गरेको हो। राहतमा प्रति परिवारलाई चामल २५ किलो, रहर दाल २ किलो, खाने तेल ५०० ग्राम, नून १ किलो, आलु ३ किलो, प्याज १ किलो, सोयाबिन ५०० ग्राम, हल्दी १०० ग्राम, खुर्सानी १०० ग्राम र धनियाँ १०० ग्राम उपलब्ध गराइएको नगर प्रमुख प्रदीप कुमार खड्काले जानकारी दिनुभयो।

उनका अनुसार अन्य वडाबाट पनि पीडित परिवारको नामावली संकलन भइरहेको छ। “विशेषगरी फुलबरिया क्षेत्रमा ठूलो क्षति भएकाले तत्काल राहत वितरण गरिएको हो,” नगर प्रमुख खडकाले शिरीष न्यूजसँग बताउनुभयो।राहत वितरणमा नगरपालिकाका कर्मचारी, नगर प्रहरी प्रमुख शत्रुधन साह,नगर प्रहरीहरु तथा स्थानीय युवाहरू सक्रिय सहभागी भएका थिए।




















