
महोत्तरी- महोत्तरीमा हत्या आरोपमा दुईजना भारतीय युवकहरुलाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेहरुमा भारत बिहार राज्य जिल्ला मधुबनि जयनगर घर भएको १९ वर्षीय दिपक मलिक र सोहि ठाउँको मधुबनि साहारघाट बसबरिया घर भएको १८ वर्षीय अमित मलिक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलिपकुमार गिरिले बताए।

उनिहरुले पिपरा गाउँपालिका- ५ हर्दियाटोलका १९ वर्षीय आशिक पासवानको हत्या गरेका हुन् । पासवानको हत्या भएको अवस्थामा शव बिहीबार साझ स्थानीय जगदिश साहको खेतमा फेला परेको थियो ।
दसैंको अवसरमा लागेको दुर्गा मेलामा भएको विवादको निहुमा दुबैजना मिलेर छुरा प्रहार गरी उनको हत्या गरेको डीएसपी गिरीले जानकारी दिए ।

दुबै जना पिपरा गाउँपालिका ५ स्थित आफ्नै मामा सुरेश मलिकको घरमा बस्दै आएको खुलेको छ ।
हत्या पश्चात आरोपितहरुलाई नियन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान गर्ने क्रममा हत्या स्वीकार गरेको पारम्भिक वयान दिएको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न रहेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज पत्रकार सम्मेलन गरी दुबैलाई सार्वजनिक गरेको हो ।
घटनाको सन्दर्भमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।