
जनकपुरधाम- धनुषाको ढल्केवर स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय ढल्केवरले दिएको जानकारी अनुसार मिथिला नगरपालिका-६, ढल्केवर स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु र चार जना घाइते भएका हो ।
शनिबार मध्याह्न १२ बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको बा ७९ प ४७५५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ज २ प ८३०१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा बा ७९ प ४७५५ नम्बरको मोटरसाइकलका चालक मिथिला नगरपालिका-१, लक्ष्मिनिवास बस्ने १८ वर्षीय राकेश राउतको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ। दुर्घटनामा परेर गम्भीर घाइते भएका राउतको जनकपुरधाम स्थित काव्या अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका अजितकुमार यादवको टाउकोमा चोट लागेको छ ।

यसैगरी, ज २ प ८३०१ नम्बरको मोटरसाइकलमा सवार एक बालक सहित तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा मिथिला नगरपालिका-६, ढल्केवरका ३८ वर्षीय अभय श्रेष्ठ, उनकी श्रीमती ३२ वर्षीया मन्दिर श्रेष्ठ र १० वर्षीय छोरा आर्यन श्रेष्ठ रहेका छन् ।
घाइतेहरुको ढल्केवर स्थित भोगेन्द्र मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ठक्करबाट दुवै मोटरसाइकलमा क्षति पुगेको छ । ती दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय ढल्केवरको नियन्त्रण राखिएको छ।