
धनुषा- मधेस प्रदेशको बालबालिकाको समग्र अवस्थामा सुधार हुँदै गएको दाबि गरिएको छ।
मधेश प्रदेशका २१ वटा पालिकामा विभिन्न स्थानीय गैरसरकारी संस्थाहरूको सहकार्यमा सेभ द चिल्ड्रेनले काम गरेपछि बालबालिकाको समग्र अवस्थामा सुधार हुन थालेको दाबि गरिएको छ।
सेभ द चिल्ड्रेन मधेश प्रदेशको फिल्ड कार्यालय बर्दिबासले आज जनकपुरधाममा मधेश प्रदेशका पत्रकारहरूसँग आयोजना गरेको संचार साझेदारी बैठक कार्यक्रममा मधेश प्रदेशको मानव सूचकाङ्कको दृष्टिकोणले कमजोर रहेको सप्तरी जिल्लाका ६, महोत्तरीको ७, सर्लाहीको ४, बाराको ३ र धनुषाको १ वटा पालिकामा काम गरिरहेको जानकारी दिइएको छ ।
सेभ द चिल्ड्रेनको कार्यक्रम बालबालिकाको बाँच्न पाउने अधिकार, पढ्न पाउने अधिकार तथा बालबालिकाको संरक्षणको अधिकारमा केन्द्रित भएर काम गरिरहेको फिल्ड कार्यालयका प्रमुख धन भुसालले जानकारी दिनु भएको छ ।
सेभ द चिल्ड्रेनले मानव सूचकाङ्कले पछाडि परेको मधेश प्रदेश तथा कणर्ाली प्रदेशलाई उच्च प्राथमिकतामा राखेर संघ, प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य गरेर काम गरिरहेको प्रदेश प्रमुख भुसालले जानकारी दिनु भयो ।
सन् २०२२ मा मधेश प्रदेशका २१ पालिकाका १ लाख ९८ हजार ३ सय ९० बालबालिकाले प्रत्यक्ष रुपमा लाभान्वित भएको जानकारी दिइएको थियो ।
शिक्षा, बाल सुरक्षा, बालअधिकार मैत्री सरकार, स्वास्थ्य र पोषण, वाल गरिबी न्यूनीकरण र क्रस कटिङ्गको क्षेत्रमा सेभ द चिल्ड्रेनले स्थानीय तथा प्रदेश सरकारलाई सघाउने काम गरिरहेको जानकारी दिइएको छ । संस्थाले स्थानीय गैरसरकारी संस्थाहरू मार्फत मधेश प्रदेशका ४ सय ४० प्री-प्राइमरी तथा आधारभूत विद्यालय, ४ सय ७२ वाल क्लब सहित विभिन्न माध्यमले बालबालिकाको समग्र अवस्थामा सुधार ल्याउन काम गरिरहेको सेभ द चिल्ड्रेनका वरिष्ठ फिल्ड अफिसर उमेश कुमार गुप्ताले जानकारी दिनु भयो ।
सो अन्तरक्रिया कार्यक्रममा सहभागी भएका पत्रकारहरूले सेभ द चिल्ड्रेनलाई बालबालिकाका विभिन्न विषयहरूमा थप कामकाज गर्नु पर्ने सुझाव दिनु भएको थियो । सेभ द चिल्ड्रेनले बालबालिकाको शिक्षा, स्वास्थ्य तथा सुरक्षाका विषयमा गरेको सकारात्मक कार्यक्रमहरूको विषयमा कलम चलाउन तयार भएको सहभागी भएका पत्रकारहरूले प्रतिबद्धता प्रकट गर्नु भएको छ । अन्तरक्रियामा धनुषा तथा महोत्तरीका पत्रकारहरू सहभागी भएका थिए ।