काठमाडौँ - जाजरकोट भूकम्पबाट पीडितलाई राहतका लागि बुद्ध एयरले एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १४१ जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते छन् । अझै खोज तथा उद्धार कार्य जारी छ ।
बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत् भूकम्प पीडितलाई राहत र पुननिर्माणका लागि एक करोड रुपैयाँ दिने घोषणा गरेको हो ।
'जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपत्मा परी त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पले थुप्रै परिवार घरबारविहीन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्छ,' बुद्ध एयरले सामाजिक सञ्जालमार्फत घोषणा गरेको छ, 'हामी बुद्ध एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड सहयोग दिने निर्णय गरेका छौं । साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनबद्ध छौं ।'




