नयाँ दिल्ली : भारतका पूर्व क्रिकेटर तथा राजनीतिज्ञ नवजोतसिंह सिद्धु जेल पुगेका छन्। भारतको सर्वोच्च अदालतले सन् १९८८ को ‘रोडरेज’ घटनामा पुनर्विचार गर्दै एक वर्षको जेल सजाय सुनाएपछि उनी शुक्रबार जेल गएका हुन्। जेलभित्र पस्नासाथ उनलाई २४१३८३ नम्बर दिइएको छ। अब उनी कैदी नम्बर २४१३८३ का नामले चिनिने छन्।
सिद्धुले शुक्रबार साँझ पटियाला सेन्टर जेल सेसन कोर्टमा आत्मसमर्पण गरेका थिए। उनको स्वास्थ्य जाँच गरेपछि जेल पठाइएको हो। उनलाई पटियाला ब्यारेक नम्बर १० मा राखिएको छ। त्यहाँ उनी सिमेन्टले बनेको पलङमा सुत्नुपर्नेछ।



शुक्रबार साँझ उनलाई जेलको तालिका अनुसार दाल र रोटी दिइएको थियो। उनले स्वास्थ्यको कारण देखाउँदै खाना नखाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। सिद्धुले जेलभित्र सेतो कपडा लगाउनुपर्नेछ। उनको कोठामा एउटा कुर्सी, टेबल, दराज, ओछ्यान, बेडकभर, दुई वटा सिरानी, एउटा कम्बल, तीन वटा भित्री वस्त्र, दुई वटा तौलिया, एउटा झुल, एउटा डटपेन, एक जोर जुत्ता र चार वटा कुर्ता पाइजामा पाएका छन्। जेलमा सिद्धुको दिन बिहान ५ः३० बाट सुरु हुनेछ।
बिहान ७ बजे चियासँगै बिस्कुट वा कालो चना खानेछन्। त्यसपछि बिहान ८ः३० मा नास्ता गर्नेछन्। नास्तामा दाल र रोटी वा तरकारी पाइने छ। त्यसपछि एक कारखानामा काम गर्न लगिनेछ। त्यहाँ दिनभर काम गर्नुपर्नेछ। साँझ ५ः३० मा छुट्टी भएपछि जेलभित्र फर्कनुपर्ने छ। साँझ ६ बजे खाना खान पाउने छन्।
३४ वर्षको घटनाले सिद्धुलाई जेल पुर्याएको हो। सन् १९८८ डिसेम्बर २७ मा गाडी पार्किङका विषयमा गुरनाम सिंहसँग सिद्धुको झगडा भएको थियो। हात हालाहालमा गुरनाम सिंहको उपचारका क्रममा मृत्यु भएको थियो। त्यसबेला जिल्ला अदालतले नियतवश नभई भवितब्य भएको भन्दै निर्दोष ठहर गरेको थियो। त्यसपछि हरियाना उच्च न्यायालयले सन् २००६ मा दोषी ठहर्याउँदै तीन वर्षको जेल सजाय सुनाएको थियो।
सर्वोच्च अदालतले सन् २०१८ मा सिद्धुलाई दोषी ठहर्याउँदै एक हजार जरिवाना गर्ने आदेश दिएको थियो। तर, पीडित पक्षले फैसलाविरुद्ध पुनः अपील गरेपछि अदालतले सिद्धुलाई दोषी ठहर्याउँदै एक वर्षको जेल सजाय सुनाइएको हो।




