वीरेन्द्र कर्ण,जनकपुरधाम– महोत्तरी जिल्लाको मटिहानी बजारमा आर्थिक गतिविधि नहुँदा सुनसान जस्तै अवस्थामा रहेको छ । तर भारतको मधवापुर बजारमा अहिले नेपाली उपभोक्ताको कारण भीडभाड बढेको छ । करिब २५ वर्ष अगाडि आर्थिक सम्पन्नताको कारण गुल्जार देखिने मटिहानी बजार माओवादी द्वन्दकालदेखि प्रभावित भएपछि आफ्नो आर्थिक साख समेत जोगाउन नसक्ने अवस्थामा पुगेको छ ।
द्वन्दकालमा तीन वटा ठूला राइस मिल रहेको र २५ गाउँका किसानहरू आफूले उत्पादन गरेको धान तथा खाद्यन्न बिक्री गर्न मटिहानी आउँदा यहाँको आर्थिक गतिविधि बढेको थियो । मटिहानी उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र चौधरीका अनुसार अहिले सीमावर्ती भारतीय बजार मधवापुरको व्यापार उच्च रहेको छ भने मटिहानीका व्यापारीको पसलमामा कतिदिन त कारोबारनै हुन नसक्ने अवस्था आएको छ ।
सीमावर्ती मटिहानी बजार तथा भारतको मधवापुर बजार टाँसिएको छ । नेपाली बजार र भारतीय बजारको पसलमा करिब करिब एउटै मूल्य रहेको छ । तर पनि नेपाली उपभोक्ताहरू भारतीय बजार मधवापुरतर्फ आकर्षित हुँदै गएका छन् । यसको कारण खोज्दा मटिहानीका व्यापारीहरू नेपाली उपभोक्तामा मधवापुर बजारमा सस्तोमा समान पाइन्छ भन्ने मानसिकता रहेको बताउँछन् ।
नेपाल भारतबीच रहेको खुल्ला सीमाको कारण तस्करी बढेको छ भने सीमा सुरक्षाको लागि खटेको सशस्त्र र जनपथ प्रहरीले आर्थिक लोभमा परी जथाभावी भारतीय सामान नेपाल भित्रन दिने गरेको जस्ता कारणले पनि मटिहानी बजार सुक्दै गएको गुनासो स्थानीय व्यापारी दिलिप गुप्ताको छ । अहिले नेपाली उपभोक्ताहरू सीमा पारी भारतीय बजार मधवापुरमा गएर कपडा, चिनी, दाल, आलु प्याजलगायतका दैनिक उपभोगका सामानहरू खरीद गर्छन ।
सोही कारण मधवापुरको दैनिक व्यापार ५० लाख रुपैयाँसम्मको हुने गरेको छ । चेम्बर अफ कमर्स मधवापुरका अध्यक्ष चेतन कुमार रेश्मीले ७५ प्रतिशत नेपाली उपभोक्ताहरू किनमेल गर्न यहाँ आउने गरेकोले दैनिक ६० प्रतिशत व्यापार हुन गरेको बताए । मधवापुर बजारमा ठूला साना गरी करिब एक हजारको हराहारीमा पसलहरू रहेका छन् ।
भारतीय व्यापारीहरूले नेपाली उपभोक्तालाई दृष्टिगत गरी सहुलियत दरमा सामान बेच्दा अहिले सीमावर्ती भारतको जयनगर, महिनाथपुर, दुहवी, खौना, बासोपटी, उमगाउ, हरिने, देवधा, मधवापुर, मिठा मोड, सुरसण्ड बजारमा नेपाली उपभोक्ताहरूको कारण दैनिक पाँच करोडको व्यापार हुने गरेको छ । नेपाली उपभोक्ता र व्यापारी नभएको भए भारतीय बजारको व्यापार खस्किने मिठा मोडका व्यापारी कृष्ण कुमार सिंह बताउँछन् ।
नेपाली उपभोक्ताको कारण मिठा मोडको दैनिक व्यापार करोडभन्दा बढी हुने गरेको छ । नेपाल भारतबीच रहेको खुल्ला सीमाको कारण भारतीय बजारमा सस्तोमा सामान पाउने भएपछि दुबै देशका व्यापारी र उपभोक्ताहरूबीच सौहार्दपूर्ण सम्बन्ध रहेकोले नेपाली उपभोक्ताहरू भारतीय बजारतर्फ आकर्षित हुँदै आएका छन् । दैनिक ५० हजारबढी नेपाली उपभोक्ताहरू किनमेल गर्न सीमावर्ती भारतीय बजारमा जाने गरेका छन् ।
सोही कारण भारतीय बजार आर्थिक रुपमा सम्पन्न हुँदै गएको हो । नेपाली उपभोक्ताका कारण व्यापार फस्टाएको भारत जयनगरका किराना व्यापारी हरिकृष्ण साह बताउँछन् । नेपाली उपभोक्ता तथा व्यापारी नआएको भए जयनगरको व्यापार आर्थिक रूपमा सुनसान हुने उनको भनाइ छ ।