
वीरगञ्ज – इँटा भट्टामा हालेर मान्छेलाई जिउँदै जलाएको आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका रौतहटका मोहम्द अफताब आलमको मुद्दामा बहस सकिएको छ।
वादी–प्रतिवादी गरी दुवै पक्षका वकिलको बहस बुधबार सकिएको हो। दुवै पक्षका बहस सकिएपछि जिल्ला अदालत रौतहटका दुई इजलासका न्यायाधीश बाबुकाजी बानियाँको इजलासले उक्त मुद्दामा बुधबार आदेश गरेको छ।
व्किलहरूको बहस सकिएपछि अदालतले मुद्दाको दुबै पक्षलाई बहस नोट पेस गर्ने आदेश दिएको छ। दुवै पक्षको वकिलको बहस सकिएको तथा अब बहस नोट पेस गर्ने आदेश भएको अदालतका श्रेष्तेदार उद्वव ढोडारीले जानकारी दिए। अब दुवै पक्षलाई बहस नोट पेस गर्नका लागि १५ दिनको म्याद दिइने उनले बताए।
‘दुबै पक्षलाई बहस नोट पेस गर्ने आदेश भएको छ, अब चिठी लेखिदिन्छाँै १५ दिनभित्र बहस नोट लिई उपस्थित हुनुहोला,’ उनले भने।
यसैगरी इजलासलाई सहजीकरण गर्न मुद्दाको टिपोट पेश गर्ने पनि आदेश भएको ढोडारीले बताए।
अब दुबै पक्षले १५ दिनभित्र बहस नोट पेस गरे वा नगरे पनि इजलासमा पेस हुनेछ। आलमसहित बिरुद्धको यो मुद्दाको अन्तिम सुनुवाइ मंसिरसम्म टुंगो लाग्ने ढोडारीको भनाइ छ।
‘मंसिरसम्म हुन्छ, यो मुद्दा धेरै पुरानो पनि भइसक्यो, ट्र्याकमा आइसकेको छ, मंसिरसम्म सकिन सक्छ,’ उनले भने। ०६४ सालको पहिलो संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा यमुनामाई गाउँपालिका ४ सरुअठाका २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अख्तरको मृत्यु भएको थियो।
विस्फोटमा परी घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाइएको आरोप लगाउँदै त्रिलोकका बुवा श्रीनारायण सिंह राजपुतले आलमसहितलाई प्रतिवादी बनाएर ०७६ साल कात्तिक १८ गते जिल्ला अदालतमा विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसूरमा मुद्दा दर्ता गराएका थिए। जिल्ला अदालत रौतहटका अनुसार हालसम्म उक्त मुद्दा १६ पटक पेसी चढेको छ।