जनकपुरधाम- मधेशमा ‘भरदुतिया’ पर्व मनाइँदै छ छ। भाईटिका जस्तै मधेशमा भरदुतिया मनाउने परम्परा रहेको छ । यस पर्वमा भाईटिका भन्दा केही विधि भने फरक रहेको छ । यस पर्वलाई भाइदुज, भरदुतिया, भ्रातृद्वितीया पनि भन्ने गरिन्छ ।
दिदीबहिनीले दाजुभाइको गलामा मखमली माला र निधारमा सप्तरंगी टीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई नगद, कपडा लगायतका उपहार दिन्छन् । यस दिन दाजुभाइ दिदीबहिनीको घरमा भार (मिठो पकवान सहितका सनेस) लिएर पुग्ने चलन छ।

भरदुतीयामा दिदीबहिनीले घरआँगन लिपेर चोख्याउँछन्। आँगनमा पिर्का राखेर त्यसमाथि अरिपन (माटो घोलेर बनाइने मैथिली चित्र) बनाएर सिन्दूरको थोपा लगाइन्छ।



दिदीबहिनीले दाजुभाइको गोडा पानीले धोइदिन्छिन् र अरिपन दिएको पिर्कामा बसाउँछन्। त्यसपछि दाजुभाइको अञ्जुलीमा पानको पात, सुपारी, फलफूल राखिदिन्छन् । अनि पानी चुहाउँदै परिक्रमा गर्छन् जसलाई न्यौत (निमन्त्रण दिनु) भनिन्छ।
त्यसपछि दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका र माला लगाइदिएर दीर्घायुको कामना गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार रुपैयाँ, गरगहना, लुगा सनेस (उपहार) दिने चलन छ।
अरिपनको महत्व
भातृदुतिया पर्वको क्रममा बनाइने अरिपन यो पर्वलाई विशेष र पृथक बनाउँछ। यो अरिपन षटदल कमल आकृतिको हुन्छ । पिर्काको अगाडि कमलको फूल कोरिएको अरिपनमाथि कचौरा राखिएको हुन्छ । लोटामा जल राखिएको हुन्छ जसमा पान, सुपारी, कुभिन्डो लगायतका फूल राखिएको हुन्छ । सोही अरिपनमाथि भाइलाई बसाएर पूजा गरिन्छ । दीपावली र छठ पर्वको बीचमै पर्ने यो पर्वले मिथिलाञ्चलवासीको हर्षलाई अझै बढाउँछ । दीपावली पर्वलाई लिएर घरआँगन लिपपोत गरिएकै हुन्छ । यद्यपि बहिनी आफ्नो भाइको स्वागतका लागि घरआँगन गाईको गोबरबाट लिपपोत गर्छिन ।
यस्तो छ किवदन्ती : भातृद्वितियाको कथा :
यस पर्वलाई लिएर एउटा कथा प्रचलित छ । भगवान सूर्य नारायणको पत्नीको नाउँ छाया हो । छायाकै गर्भबाट यमराज तथा यमुनाको जन्म भएको थियो । यमुना आफ्नो भाइ यमराजलाई अगाध स्नेह गर्थिन् ।
भनिन्छ, यमुनाले पटक पटक आफ्नो भाई यमसँग निवेदन गर्थिन् आफ्ना इष्टमित्रका साथ घर आउनका लागि । तर आफ्नो कार्यमा व्यस्त यमराजले उनको यो निवेदनलाई टार्दै आउँथे । यसै क्रममा कार्तिक शुक्ल पक्षको द्वितीया तिथि आयो । यमुनाले सोही दिन भाई यमराजलाई भोजनका लागि निमन्त्रणा दिएर घर आउन वचनबद्ध गरिन् । यमराजले सोचे म सबैको प्राण लिन्छु। मलाई कोही घर बोलाउन चाहँदैनन् । बहिनीले यति स्नेहपूर्वक बोलाई रहेकी छिन् भने, उसको स्नेहको मान राख्नु मेरो धर्म हो । यमराजलाई आफ्नो घर आएको देखेर यमुना औँधी खुसी भइन । यमुना स्नान र पूजा गरी विभिन्न प्रकारको व्यंजन भाई यमलाई खानका लागि दिइन् ।
यमुनाद्वारा गरिएको आतिथ्यबाट यमराज प्रसन्न भएर आफ्नो बहिनीलाई वरदान माग्नलाई भने । यमुनाले भाई यमराजलाई प्रत्येक वर्ष यो तिथिमा आफ्नो घर आउनका लागि भनिन् । म जस्तै बहिनीले यो दिनमा आफ्नो भाईलाई आदर सत्कार गरी टीका लगाउने गर्छिन भने उसलाई तपाईको भय रहँदैन । यमराजले तथास्तु भनेर यमुनालाई अमूल्य वस्त्राभूषण दिएर यमलोक फर्के । सोही दिनबाट भातृद्वितीया पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ ।




