तिहारको मुख्य दिन आज भाइटीका । देशभर हर्षोल्लासका साथ दिदीबहिनीले दाजुभाइलाई निधारमा सप्तरंगी टीका लगाई भाइटीका मनाएका छन् ।
दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरंगी टीका लगाइदिएका हुन् । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई मरमसला एवं विभिन्न प्रकारका रोटीलगायत खानेकुरा दिने गर्छन् ।




दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ । यमराजले आफ्नी बहिनी यमुनासँग आजको दिन भाइटीका लगाउँछन् भन्ने धार्मिक मान्यता छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर भाइ टीकाका दिन परम्पराअनुसार टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने चलन छ ।




