
रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई हराउँदै अष्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।
कोलकाताको इडेन गार्डेनमा दक्षिण अफ्रिकामाथि ३ विकेटको जितसँगै कंगारु टोलीले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो ।
२१३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेट गुमाउँदै पुरा गरेको थियो । उसको जितमा ओपनर ट्राभिस हेडले सर्वाधिक ६२ रनको योगदान गरे ।
हेडसँग मिलेर डेभिड वार्नरले अष्ट्रेलियालाई विष्फोटक सुरुवात दिलाएका थिए । वार्नर १८ बलमा २९ रन बनाएर आउट भए । स्टेभर स्मिथले ३० र जोस इङ्लिसले २८ रन बनाए ।
पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९.४ ओभरमा २१२ रन बनाएर अलआउट भएको थियो । उसका डेभिड मिलरले शतक प्रहार गरे। हेनरिक क्लासेनले ४७ रन बनाए।
अष्ट्रेलियाको लागि मिचेल स्टार्क र प्याट कमिन्सलले ३ तथा जोश हेजलवुड र ट्राभिस हेडले २–२ विकेट लिए।
पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई हराउँदै भारत फाइनलमा पुगेको थियो। उपाधिका लागि अष्ट्रेलिया र भारतबीच आइतबार अहमदावादमा प्रतिस्पर्धा हुनेछ ।