
काठमाडौं : सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ। अधिवक्ता दिनेश त्रिपाठीले टिकटकलाई प्रतिबन्धित गर्ने सरकारको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दिएका हुन्।
उनले रिट दर्ताको प्रक्रियामा रहेको बताए। २७ गते कार्त्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो। टिकटकबाट समाजमा विसंगति,विकृति र अराजकता फैलाएको भन्दै नेपालमा टिकटक बन्द गर्ने निर्णय सरकारले गरेको हो।
टिकटक बन्द गर्ने सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक,बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठीले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन्।
नेपाल सरकार,सूचना तथा संचार मन्त्रालय सिंहदरबार र नेपाल दूरसंचार प्राधिकरण जमललाई रिटमा विपक्ष बनाइएको छ। उनले सोसल मिडिया प्लेटफर्महरू (एक्स, ह्वाटसप,लिंकडीन, इन्स्टाग्राम,फेसबु्क) को प्रयोगमा कुनै अवरोध नपुर्याउ भनि बिपक्षहरुका नाममा प्रतिषेधको आदेश जारी गर्न माग गरेका छन्।