
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले राजतन्त्र फर्कने कुनै सम्भावना नभएको भन्दै त्यस्ता हल्लाका पछाडि नलाग्न आग्रह गरेका छन्।
नेपाली कांग्रेस सिन्धुलीद्वारा शुक्रबार सदरमुकाम माडीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेता निधिले राजतन्त्र फर्कन्छ भन्ने निरर्थक हल्लाका पछाडि लाग्न नहुने भन्दै निधिले एजेण्डाविहीन मुद्दामा चासो राख्नु जरूरी नभएको बताए।
संघीयता विरोधी शक्तिहरू सल्बलाउन थालेको भन्दै कांग्रेस नेता निधिले कांग्रेससहित अन्य दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ बनाउनका लागि बाँकी कामलाई मूल एजेण्डा बनाउनु पर्नेमा जोड दिए।
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि संविधानमा उल्लेख गरिएका कानुन बनाउनु पर्ने तथा विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढ्नुपर्ने उनले बताए।
सिंगो मुलुक यी तीन वटा कामका लागि तयार हुनुपर्ने भन्दै यसलाई कांग्रेसले आफ्नो एजेण्डा बनाउने पनि उल्लेख गरे।
कांग्रेस नेता निधिले सात वटै प्रदेशको मातहतमा प्रहरी संगठन हुनुपर्ने भन्दै त्यससम्बन्धी कानुन कार्यान्वयनमा जोड दिए।
उनले प्रहरी संगठनका साथै प्रदेश सरकारको छुट्टै कर्मचारी भर्ना गर्न पाउने संयन्त्र हुनुपर्ने पनि बताए। यति काम नभएसम्म प्रदेश सरकारले गति लिन नसक्ने निधिको भनाइ थियो।