
उदयपुर- मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा विद्यालयको बस पल्टिँदा चालक सहित दुई बालबालिकाको मृत्यु भएको छ ।
प्रदेश १–०५–००१ख–००४४ नम्बरको स्कुल बस दुर्घटना भएको हो । बस सडकबाट करिब ४० फिट तल खसेको छ ।
दुर्घटनामा बसका चालक त्रियुगा नगरपालिका–६ का ४० वर्षीय भिखन चौधरी, सोही वडाकी ७ वर्षीया बालिका सम्या चौधरी र ६ वर्षीय बालक विकास चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।
घाइते ३९ जनामध्ये १२ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि जिल्ला अस्पताल गाइघाटबाट विराटनगर लगिएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–५ देउरी स्थित अन्नपूर्ण स्कुलको बस दुर्घटना भएको हो ।
विद्यार्थीहरु पिकनिक खाएर फर्किएको अवस्थामा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विद्यालयका अभिभावकहरुले बस रिजर्भ गरेर पिकनिक खान लगेका थिए । बसमा अभिभावक तथा विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।