काठमाडौं – सर्वोच्च अदालतले आरती साह मृत्यु प्रकरणमा आरतीका श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार साहलाई थुनामा पठाउने आदेश दिएको हो ।
आरती गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका-९ थापाचोकमा मृत अवस्थामा फेला परेकी थिइन् । आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका श्रीमान् मोतीबाबु साह र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरेको थियो ।



उनीहरुविरुद्ध १ असारमा जिल्ला अदालत धनुषामा ज्यानसम्बन्धी मुद्दा दायर भएकोमा थुनछेक बहसपछि ५ असारमा जिल्ला अदालतले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
तर उच्च अदालत जनकपुरधामले उनिहरुलाई रिहा गर्ने आदेश दिएको थियो ।
उच्च अदालतको सोही आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यलयले गरेको पुनरावेदन निवेदनमा सर्वोच्च अदालतले बुधबार सुनुवाइ गर्दै ससुरा मदनमोहन ब्याहुत सुडीलाई रिहा गर्ने र श्रीमान मोतीबाबुलाई भने थुनामा पठाउने आदेश दिएको हो ।
आरती र मोतीबाबुबीच २९ असार २०७७ मा विवाह भएको थियो ।




