महोत्तरी - मधेश आन्दोलनका क्रममा मारिएका शसस्त्र प्रहरी असई थमन वि.क. हत्या मुद्दामा जन्मकैद सजाय पाएका जलेश्वर नगरपालिका ९ निवासी मोहन ठाकुरलाई जेल चलान गरिएको छ । लेनदेन मुद्दामा सिन्धुली कारागारमा सजाय काटी छुट्नै लाग्दा प्रहरीले सोहि ठाउबाट उनलाई पुनः पक्राउ गरि थमन वि.क.हत्यामा दोषी करार भई जन्मकैद सजाय पाएकोमा प्रहरीले महोत्तरी जिल्ला अदालतमा बुझाएपछि जिल्ला अदालत महोत्तरीबाट सजाय भुक्तानी गर्न जलेश्वर कारागारमा बुझाएको छ । उनलाई गत मंसिर २८ गतेको जिल्ला अदालत महोत्तरीको फैसलाले दोषी करार भई गत पौष १३ गते जलेश्वर कारागार चलान गरिएको हो । उनले सजाय भने पौष १२ गते देखि गणना हुने छ ।
सोहि मुद्दामा पहिलो पटक पक्राउ परि पुर्पक्षमा उनले २ महिना २५ दिन कारागारमा बसिसकेकोमा उनको २० वर्षको सजायबाट सोहि समय कट्टा भई उनले थप १९ वर्ष ९ महिना ५ दिन सजाय भुक्तान गर्नु पर्ने हुन्छ । यता सोहि मुद्दामा पहिले देखि नै पुर्पक्षमा रहेका प्रदीप साह माझी र संजय कुमार साहले समेत जन्मकैदको कुल बिस वर्ष सजाय मध्ये हालसम्म कारागारमा बसेको समय कट्टा गरि थप सजाय काट्नु पर्ने हुन्छ ।
२०७२ सालको मधेश आन्दोलनको समय हत्या गरिएका शसस्त्र प्रहरी असई थमन वि.क.को हत्या मुद्दामा जिल्ला अदालत महोत्तरीले गत मंसिर २८ गते फैसला सुनाउदै प्रदीप साह माझी र संजय कुमार साह,मोहन ठाकुर सहित पुर्व राज्यमन्त्री तथा लोसपाको संसदिय दलका नेता अभिराम शर्मा,जलेश्वर अस्पतालका पुर्व अध्यक्षद्य सुरेश पाण्डेय र धर्मेन्द्र राय,जलेश्वर नगरपालिकाका पुर्व मेयर रामशंकर मिश्र साहीजी लगायतका सातजनालाई जन्मकैद फैसला सुनाएको थियो । उनीहरुले यसैसंग लगाउ रहेको आगजनी मुद्दामा थप ६ महिना कैद र १० लाख क्षतिपुर्ति समेत तिर्नु पर्ने फैसला रहेको छ ।
सोहि घटनामा नाम जोडिएका एमालेको तर्फबाट महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधीसभा सदस्य लक्ष्मी महतो कोइरी र जलेश्वर नगरपालिका ९ निवासी पवन कापरले सफाई पाएका थिए । यता १९ जनाको नाममा मुद्दा अझै मुल्तवी राखिएको छ ।
मधेश आन्दोलनको क्रममा आन्दोलनलाई मत्थर पार्न षडयन्त्रपुर्ण तरिकाले आन्दोलनकारीहरुको नाम समावेश गरेको र अदालतको फैसला न्यायपुर्ण नभएको भन्दै लोसपाको तर्फबाट फैसला भएकै दिनदेखि महोत्तरीको विभिन्न स्थानमा आन्दोलन र प्रदर्शनहरु भएको थियो भने केन्द्रमै समेत लोसपाको तर्फबाट दवाव बनाउने प्रयास भैरहेको छ ।
यस्तो थियो घटना ः
मधेश आन्दोलनको क्रममा २०७२ साल भाद्र २५ गते विहान जलेश्वरमा केहि व्यक्तिहरुले शसस्त्र असई थमन विकलाई कुटपिट गरि घाईते बनाएकोमा उनको उद्धार गरि जलेश्वर अस्पताल लगिएको र त्यहाबाट थप उपचारको लागि जनकपुर लग्ने क्रममा महोत्तरी गाउपालिकाको सोनुषडामा एम्बुलेन्स रोकी एम्बुलेन्सबाट थुतेर सोहि ठाउ स्थित धान खेतमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
भाद्र २३ गते नै सुरक्षाकर्मीको गालीबाट रोहन चौधरी,रामविवेक यादव,विरेन्द्र विक्षा र अमित कापर गरि ४ जना आन्दोलनकारीको प्रहरीको गोलीबाट मृत्यु भएको थियो । सोहि कारणले स्थानियहरुमा सुरक्षाकर्मीप्रति व्यापक आक्रोस थियो । प्रसासनले भाद्र २३ गतेको घटना लगतै कर्फयु लगाएकोमा २५ गते बिहान केहि समयको लागि कफ्र्यु खुकुलो गरेको थियो । सोहि समय शसस्त्र असई विकलाई केहि स्थानियहरुले घेराहाली कुटपिट गरि घाईते बनाएका थिए ।
यता भाद्र २३ र भाद्र २५ को घटना पछि पुनः भाद्र २७ गते सुरक्षाकर्मीले चलाएको गोलीबाट रामशिला देवी मण्डल र रोहन चौधरीका हजुरबुवा गणेश चौधरीको मृत्यु भयो ।




