बर्दिवास (महोत्तरी)- बहुप्रतिक्षित बर्दीबासमा सरकारी मेडिकल कजेजको निर्माण तोकिए कै स्थानमा हुने पक्का भएको छ। तर रकारले स्रोतको सुनिश्चितता नगरे निर्माण कार्य अघि बढाउने अवस्था छैन।
बर्दिबासमा पूर्वाधार विकास आयोजनाका प्रमुख देवीप्रसाद सुवेदीका अनुसार अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता भएपछि मात्र पूर्वाधार निर्माणको कामलाई अगाडि बढाउन सकिन्छ ।




बुधबारको मन्त्रिपरिषद् बैठकले मेडिकल कलेज पूर्वाधार निर्माणका लागि प्रस्तावित जग्गामा तोकिएका रुख कटान गर्न दिने निणर्य गरेसँगै लामो समयदेखि जग्गा प्राप्तिमा अल्झिएको बर्दिवास मेडिकल कलेजको पूर्वाधार निर्माण अघि बढ्ने भएको छ ।
पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले बिहीबार निणर्य कार्यान्वयनको प्रक्रिया अघि बढिसकेकाले अब मेडिकल कलेज पूर्वाधार निर्माणको गाँठो फुकेको बताए ।
वन तथा वातावरण मन्त्रालयमा लामोसमयदेखि थन्किएको मेडिकल कलेजको फाइलमा निणर्य गर्दै मन्त्रिपरिषद्ले सर्तहरू पालना गर्नेगरी बर्दिवास-४ स्थित माइस्थान सामुदायिक वन क्षेत्रको ५४.५८४ हेक्टरमा रहेका १९ सय ७६ रुख कटान गर्न स्वीकृति दिने निणर्य गरेको छ ।

कलेज निर्माणको काम अघि बढाउन स्वीकृति दिने निणर्य गरेपछि बर्दिवास सहित सम्पूणर् महोत्तरीबासीमा उत्साह छाएको छ। बर्दिवास क्षेत्रका समाजिक अभियन्ता निलबहादुर लुम्रेले मन्त्रिपरिषद्को निणर्यले महोत्तरीवासी उत्साहित भएको बताए । ‘मन्त्रिपरिषद्को निणर्यले यहाँ उत्साह छाएको छ,’ उनले भने, अब चाँडै बर्दीबासमा मेडिकल कलेजको पूर्वाधार निर्माण कार्य अघि बढ्ने विश्वास हामीले लिएका छौँ।’
जग्गा उपलब्ध भएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माणको लागि बाटो खुलेको छ । सरकारले मेडिकल कलेज निर्माणका लागि बर्दिबासमा पूर्वाधार विकास आयोजनाको कार्यालय समेत २०७६ वैशाखमा स्थापना गरिसकेको छ।

आयोजनाका प्रमुख देवीप्रसाद सुवेदीका अनुसार २०७७ कात्तिक २० वातावरणीय परीक्षण मूल्याङ्कन (ईआईए) वन मन्त्रालयबाट स्वीकृत भइसकेको छ । यस्तै २०७८ असोजमा कलेज निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर ) शिक्षा मन्त्रालयमा पेश भइसकेको छ ।
सकेसम्म वृक्षरोपण गर्नका लागि जग्गाको खोजी गर्ने र यदि हालसालै वृक्षरोपण गर्न सम्भव नभए अर्थ मन्त्रालयले पाँच वर्षभित्रमा रकम जम्मा गर्ने व्यवस्था भएको भन्दै सुवेदीले त्यसको स्रोतको सुनिश्चितता भएपछि पूर्वाधार निर्माण सुरु हुने बताए ।
सरकारले आर्थिक वर्ष २०७३/०७४ मा बर्दिबास मेडिकल कलेज स्थापना गर्ने निणर्य भएको थियो ।
‘मन्त्रिपरिषदमा फाइल लैजाने गरी वन मन्त्रालयमा सबै डकुमेन्ट पठाएपछि जग्गा प्राप्ति भएसँगै अब अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता भएपछि पूर्वाधार निर्माणको कामलाई अगाडि बढाउने सुवेदीले बताए ।
सुवेदीका अनुसार मेडिकल कलेज पूर्वाधार निर्माणका २० अर्ब हाराहारीमा खर्च अनुमान गरिएको छ। एक हजार बेडको अस्पताल सहितको अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न मेडिकल कलेज बनाउने योजना छ ।‘कुनै पनि रोगका लागि बाहिर देश जानुपर्ने अवस्था नहोस् भन्ने योजनाका लागि मेडिकल कलेजको निर्माण हुन लागेको हो’, आयोजना प्रमुख सुवेदीले भने ।
दुई भवनमा ६ सय र ४ सय बेड गरी हजार बेडको अस्पताल भवन निर्माण हुनेछ । मेडिकल कलेजको भवन, प्रोफेसर तथा कर्मचारी बस्ने क्वार्टर, विद्यार्थी होस्टेल, कुरुवा घर लगायतका भौतिक संरचना निर्माण हुनेछ ।
तर बजेट अभावका कारण हालको लागि ६ सय बेडको मात्र अस्पताल निर्माण गर्ने भन्ने बहस पनि चलेको सुवेदीले जानकारी दिए । जसका लागि करिब १४ अर्ब खर्च हुने अनुमान गरिएको छ । जग्गा प्राप्तिका लागि दुई वर्ष भन्दा बढी समय लागेका भन्दै यही रुपमा काम अगाडि बढे अझै निर्माण प्रक्रिया थालनी गर्न एक-दुई वर्ष लाग्ने सक्ने प्रमुख सुवेदी बताउँछन् । सरकारले स्रोत सुनिश्चितता गरेपछि तीन वर्षभित्र पूर्वाधार निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ ।
वन क्षेत्रमा बर्दिबासमा मेडिकल कलेज बनाउन नहुने भन्दै वातावरण क्षेत्रमा काम गर्ने धनुषाका देवनारायण मण्डलले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेर मेडिकल कलेज निर्माणको बाटो खोलिदिएको थियो। र अहिले मन्त्रिपरिषद् बैठकले मेडिकल कलेज पूर्वाधार निर्माणका लागि प्रस्तावित जग्गामा तोकिएका रुख कटान गर्न दिने निणर्य गरेसँगै जग्गा प्राप्तिको कुरा टुंगिएको छ ।
बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्रीले वनक्षेत्रमा कलेज निर्माण रोक्न भन्दै सर्वोच्चमा २०७८ मा परेको रिट अदालतले गत जेठ २९ गते खारेज गरेको बताउँदै बर्दिवास नगरपालिकाले कलेजको पूर्वाधार निर्माण गर्दा काटिने रुखका कारण पर्यावरणमा पर्नसक्ने असर रोक्न ०७८ सालदेखि नै वृक्षारोपण अभियान संचालन गरिरहेको जानकारी दिए ।
मेयर क्षेत्रीले काटिने रुख भन्दा वन क्षेत्रमा १० गुणाभन्दा बढी विरुवा वृक्षरोपण गरिने बताए ।





