धनुषा - मधेस प्रदेशको राजधानी जनकपुरधामबाट ५ सय किलोमिटर टाढा रहेको भारतको अयोध्यामा राम मन्दिरको आज उदघाटन भइरहँदा मधेस सहित नेपालभरि नै उल्लासमय वातावरण बनेको छ।
आज भारतको अयोध्यामा राम मन्दिरको स्थापना र रामललाको प्रतिमालाई प्राण प्रतिष्ठा दिइने चर्चा विषय बनेको छ। यति खेर जताततै सार्वजनिक चोक देखि चिया र पानपसलहरूमा चारैतिर चर्चाको प्रमुख विषय नै राममन्दिरको उदघाटन बनेको छ।
अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठालाई लिएर मधेश प्रदेशको राजधानी भगवानको राम ससुराली जनकपुरधाम सहित मधेसका अधिकांश मठमन्दिर रङ्गरोगन गरेर चिटिक्क बनाइएको छ भने जताततै राम र हनुमान अङ्कित झण्डाहरु झुण्ड्याइएको छ ।
राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरको तर्फबाट चाँदीका धनुष वाण लगायत सुनचाँदीका विभिन्न गहना, लत्ताकपडा, फलफूल लगायत एक हजार भन्दा बढी भार अयोध्या पठाइसकेको छ भने आज साँझ जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने भएको छ ।
राम मन्दिरको प्राण प्रतिष्ठाका दिन एक लाख २५ हजार दीप बाल्नुको साथै विशेष आरती गरिने तयारी गरिएको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र साहले जानकारी गराउनुभएकोछ । यसका साथै सोमबार उत्सवको रूपमा मनाउन जनकपुरवासीलाई आग्रह गरिएको छ । राम मन्दिरको उदघाटनको दिन दुवै मुलुकका लागि विशेष भएकाले दीप बाल्न तथा उत्सवमा उपस्थित हुन सवैमा आग्रह गरिएको छ ।
त्रेतायुगमै नेपाल र भारतको सांस्कृतिक सम्बन्ध जोडिएको थियो। र, सोही सम्बन्धका कारण अयोध्यामा उत्सव छाएका बेला नेपाल पनि उल्लासमय बनेको छ। ‘त्रेतायुगमा राम र सीताको वैवाहिक सम्बन्धले दुई देशलाई एक सूत्रमा बाँधेको छ जसको उदाहरण रामललाको प्राण प्रतिष्ठाको अवसर हो,’ जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशणदास वैष्णव बताउनुहुन्छ, ‘भगवान् रामको मन्दिर अयोध्यामा ५ सय वर्षपछि निर्माण हुनु र रामललाको प्रतिमाले प्राण प्रतिष्ठा पाउनु सबै सनातनी हिन्दु धर्मावलम्बीहरूका लागि गौरवको कुरा हो र यस अवसरमा जति धेरै उत्सव मनाइन्छ त्यो कम नै हुन्छ।’
जनकपुरधाम उपमहानगरपालिकाले पनि भगवान् रामको प्राण प्रतिष्ठा हुने दिन सनातनी हिन्दू धर्मावलम्बीका लागि विशेष दिन भएकाले पालिका भित्र माछा, मासु, मदिरा बिक्री वितरण नगर्न सबैमा अपिल गरेको छ। त्यसैगरी घरघरमा दीप बालेर खुसियाली मनाउन नगर प्रमुख मनोज साहले सबैलाई आग्रह गर्नुभएको छ।
माघ ८ गतेलाई सार्वजनिक बिदा दिन माग गर्दै जानकी मन्दिरका उत्तराधिकारी रामरोसन दासले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले ज्ञापनपत्र बुझाउनुभएको छ । सो ज्ञापनपत्रमाथि अहिलेसम्म कुनै निणर्य नभएको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।
सयौँ वर्ष लामो प्रतीक्षापछि भगवान् रामको मन्दिर निर्माण भएको खुसीयालीमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ, सहिदनगर, औरही लगायत मधेश प्रदेशका दुई दर्जनभन्दा बढी स्थानीय तहले सोमबारका लागि सार्वजनिक बिदा दिएका छन् ।




