काठमाडौं । भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीश कुमारले पदबाट राजीनामा दिएका छन् । उनले राज्य सरकार भंग भएको घोषणा गर्दै राज्यपालसामु राजीनामा दिएका हुन् ।
केहीदिनदेखि नीतीश कुमार फेरि भारतीय जनता पार्टीसँग मिल्न लागेको चर्चा चलिरहेको थियो । त्यसलाई पुष्टि गर्ने गरी आइतबार दिउँसो उनले सरकार भंग गरेका हुन् ।



अब उनी भारतीय जनता पार्टीको समर्थनमा फेरि मुख्यमन्त्री नियुक्त हुने अनुमान गरिएको छ । अहिले उनी लालु यादवका छोरा तेजस्वी यादवले नेतृत्व गरेको राष्ट्रिय जनता दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
त्यसअघि भने उनी भारतीय जनता पार्टीसँगकै सहकार्यमा थिए । पछिल्लो पटक कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा रहेका नीतीश कुमारले फेरि एक पटक गठबन्धन परिवर्तन गरेका छन् । उनले धेरै पटक यस्तो गरिसकेका छन् ।
राजीनामा दिए पछि उनले भने, ‘हामी पहिलेको सहयोगीसँग अलग भएर नयाँ गठबन्धनमा गएका थियौं । तर, अब मैले राजीनामा दिएको छु, जनता र पार्टीको राय सुनेर मैले यो फैसला लिएको हुँ ।’उनी डेढवर्ष अघि भजपा गठबन्धन छाडेर तेजस्वी यादवसँग मिल्न पुगेका थिए । तर, यो डेढ वर्षमा नयाँ गठबन्धन जनताले नरुचाएको नीतीशले दाबी गरे ।
भारतमा यो वर्ष लोकसभा चुनाव हुँदैछ । नीतीश कुमारलाई आफ्नो पक्षमा ल्याएर प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावमा बलियो उपस्थितिको संकेत दिएका छन् ।ठूला राज्यमध्येको एक बिहारमा नीतीश र तेजस्वी एक ठाउँ रहँदा भाजपालाई ठूलो नोक्सानी हुने अनुमान गरिँदै आएको थियो ।




