
काठमाडौं। मौसमले साथ नदिँदा नेपाल एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ।
मलेसियामा भएको सेमिफाइनलमा शानदार बलिङ गर्दै नेपालले पहिलो इनिङमा प्रतिद्वन्द्वी यूएईलाई मात्र ८१ रनमा अलआउट गरेको थियो।
तर, त्यसपछि भारी वर्षाका कारण दोस्रो इनिङ सञ्चालन हुन नसक्दा खेल रद्द भयो। सेमिफाइनल खेल रद्द भएपछि समूह चरणमा ग्रुप ‘ए’को विजेता बनेको यूएईले सिधै फाइनलमा प्रवेश पायो।
ग्रुप ‘बी’को उपविजेता बनेको नेपाल सेमिफाइनल खेल नभएपछि दूर्भाग्यवश प्रतियोगिताबाट बाहिरियो।
नेपालले ८२ रनको सहज लक्ष्य सजिलै पूरा गर्न सक्ने अनुमान थियो। तर, भाग्यले साथ नदिएपछि नेपालको फाइनलको ढोका मात्र बन्द भएन, एसिया कप खेल्ने सपना पनि यसपटकलाई रोकियो।
यस प्रतियोगिताको फाइनल खेल्ने दुई टिम यसै वर्ष बंगलादेशमा आयोजना हुने महिला टी–ट्वान्टी एसिया कपको लागि छनोट हुने थिए।
सेमिफाइनलको पहिलो इनिङमा नेपालकी अश्मिना कर्माचार्य एक्लैले पाँच विकेट लिएपछि यूएई अन्तिम बल खेल्नुअघि नै ८१ रनमा अलआउट भयो। नेपालका इन्दु बर्माले तीन र सरिता राना मगरले दुई विकेट लिए।
नेपालले समूह चरणमा लगातार शुरुआती तीन खेल जित्दा एक खेलमा पराजय भोगेको थियो।
पहिलो खेलमा भुटानलाई ५० रनले पराजित गरेको नेपालले दोस्रो खेलमा कुवेतलाई २५ रन र तेस्रो खेलमा बहराइनलाई आठ विकेटले हराएको थियो।
तर, अन्तिम खेलमा हङकङसँग सात विकेटले पराजित भएको नेपाल समूह विजेता बन्न सकेन।