अभिमनु पटेल,रौतहट- रौतहटको सदरमुकाम गौर र ईशनाथ नगरपालिकालाई जोड्ने लालबकैया नदीस्थित टिकुलियाघाट पुल निर्माणले अन्ततः गति लिएको छ। लामो समयदेखि अलपत्र अवस्थामा रहेको यो पुलको निर्माण कार्य करिब ९५ प्रतिशत सम्पन्न भएको छ। बाँकी काम पनि पूरा हुने चरणमा पुगेपछि गौर–ईशनाथ क्षेत्रका स्थानीय बासिन्दामा वर्षौँदेखिको सपना साकार हुने आशा पलाएको छ।
वर्षौँसम्म निर्माण अधुरो रहँदा स्थानीयले भोग्दै आएको सास्ती, जोखिमपूर्ण नदी वारपार र वर्षायाममा आवागमनमा हुने अवरोध अन्त्य हुने अपेक्षा गरिएको छ। पुल पूर्ण रूपमा सञ्चालनमा आएपछि गौर र ईशनाथ नगरपालिकाका बासिन्दालाई मात्र नभई आसपासका ग्रामीण क्षेत्रका नागरिक, किसान, व्यापारी, विद्यार्थी तथा बिरामीलाई समेत प्रत्यक्ष लाभ पुग्नेछ।




हाल पुलका ६ वटै स्पानको निर्माण कार्य सम्पन्न भइसकेको छ। पुलको प्राविधिक परीक्षणसमेत गरिएको छ। अहिले पुलको दुवैतर्फ नदी नियन्त्रणका लागि ग्याबियन जालीमा ढुङ्गा भर्ने, स्पर निर्माण तथा एप्रोच रोड अर्थात् पुलसम्म पुग्ने सडक निर्माण लगायतका काम अघि बढिरहेका छन्।
पुलको संरचनागत निर्माण लगभग पूरा भएपनि बाँकी प्राविधिक काम सम्पन्न गरी आवश्यक परीक्षण र सुरक्षा सुनिश्चित गरेपछि मात्रै यसलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिनेछ। हाल केही पैदलयात्री, साइकल तथा मोटरसाइकल चालकले पुलबाट आवतजावत गरिरहेको बताइए पनि सबै प्रकारका सवारीसाधनका लागि औपचारिक रूपमा सञ्चालन गर्न बाँकी काम पूरा हुनु आवश्यक छ।
टिकुलियाघाट पुल निर्माणमा भएको लामो ढिलाइले यस क्षेत्रका बासिन्दालाई वर्षौँदेखि प्रत्यक्ष असर पार्दै आएको छ। पुल नहुँदा स्थानीय नागरिकले लालबकैया नदी वारपार गर्न डुङ्गाको सहारा लिनुपर्ने अवस्था थियो। विशेषगरी वर्षायाममा नदीमा बाढी आउँदा आवागमन झन् जोखिमपूर्ण बन्ने गरेको थियो।

यसै घाटमा बाढीका बेला पटक–पटक डुङ्गा दुर्घटना भएका छन्। ती दुर्घटनामा दर्जनौँ मानिसले ज्यान गुमाएको पीडादायी इतिहास स्थानीयसँग जोडिएको छ। नदीमा पानीको बहाव बढेका बेला पनि बाध्यतावश वारपार गर्नुपर्ने अवस्थाले सर्वसाधारणको ज्यान जोखिममा पर्दै आएको थियो।
पुल सञ्चालनमा आएपछि यस्तो जोखिम न्यूनीकरण हुनुका साथै स्थानीयको आवागमन सहज, सुरक्षित र भरपर्दो हुने अपेक्षा गरिएको छ। आकस्मिक बिरामीलाई अस्पताल पुर्याउन, विद्यार्थीलाई विद्यालय जान, किसानलाई कृषि उपज बजारसम्म पुर्याउन तथा सर्वसाधारणलाई दैनिक कामकाज गर्न सहज हुनेछ।
त्यसैगरी, गौर बजारसँग ईशनाथ नगरपालिका तथा आसपासका बस्तीको सम्पर्क थप मजबुत हुने, स्थानीय व्यापार व्यवसाय विस्तार हुने र कृषि उपजको ढुवानी खर्च तथा समय घट्ने अपेक्षा गरिएको छ। सीमावर्ती क्षेत्रको आर्थिक गतिविधि, सामाजिक सम्बन्ध र स्थानीय बजारको विकासमा समेत पुलले महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ।
टिकुलियाघाट पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ असार २९ गते गरेका थिए। शिलान्यास कार्यक्रममा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिसमेत सहभागी भएका थिए।

गौर नगरपालिका–४ स्थित लालबकैया नदीमा निर्माण गर्ने गरी अघि बढाइएको करिब २२५ मिटर लामो यस पुलको प्रारम्भिक निर्माण जिम्मेवारी पप्पु कन्स्ट्रक्सनले पाएको थियो। पहिलो ठेक्का सम्झौताअनुसार करिब १४ करोड ९३ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। सम्झौताअनुसार पुल २०७४ असार २५ गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने थियो।
तर, निर्धारित समयभित्र काम पूरा हुन नसक्दा पुल निर्माण लामो समयसम्म अलपत्र रह्यो। निर्माणमा भएको ढिलाइले स्थानीयको आवागमन प्रभावित हुनुका साथै राज्यको लगानी र सार्वजनिक पूर्वाधार निर्माणको प्रभावकारितामाथि पनि प्रश्न उठ्दै आएको थियो।
पुरानो ठेक्का व्यवस्थापनमा समस्या आएपछि बाँकी काम सम्पन्न गर्न २०८० असोज ९ गते आजाद–दिपु एन्ड कम्पनी जेभीसँग नयाँ सम्झौता गरिएको थियो। उक्त सम्झौताको लागत भ्याटसहित २७ करोड ६६ लाख ८ हजार १७६ रुपैयाँ रहेको छ।
नयाँ सम्झौताअनुसार निर्माण कार्य २०८१ चैत १ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, बजेट तथा स्रोत सुनिश्चिततासम्बन्धी समस्या र निर्माण कार्यमा भएको ढिलाइका कारण निर्धारित समयमै पुल सञ्चालनमा ल्याउन सकिएन।
पछिल्लो समय निर्माण कार्य अघि बढ्दै गए पनि एप्रोच सडक, नदी नियन्त्रण तथा अन्य आवश्यक प्राविधिक काम पूरा गर्नुपर्ने अवस्था छ। निर्माण सम्पन्न गर्ने अन्तिम समयसीमा नोभेम्बर २०२६ अर्थात् २०८३ कात्तिक/मंसिरसम्म थप गरिएको विवरण छ। यद्यपि, निर्धारित समयभित्र सबै काम सम्पन्न हुने विषय बजेट निकासा, निर्माणको गति र बाँकी प्राविधिक कामको प्रगतिमा निर्भर रहनेछ।

पुलका मुख्य संरचनाको निर्माण सम्पन्न भइसकेकाले अब बाँकी काम समयमै पूरा गर्नु सम्बन्धित निकाय र निर्माण कम्पनीका लागि प्रमुख चुनौती बनेको छ। पुलको दुवैतर्फ नदी कटान रोक्ने संरचना, एप्रोच सडक र आवश्यक सुरक्षा व्यवस्थामा ढिलाइ भएमा निर्माण सम्पन्न भए पनि पुलको पूर्ण उपयोगमा समस्या आउन सक्छ।
त्यसैले सरकारले आवश्यक बजेट समयमै निकासा गर्ने, सम्बन्धित प्राविधिक तथा नियामक निकायले नियमित अनुगमन गर्ने र निर्माण कम्पनीले बाँकी कामलाई प्राथमिकताका साथ अघि बढाउने हो भने निर्धारित समयसीमाभित्र पुल सञ्चालनमा ल्याउने सम्भावना छ।
स्थानीय बासिन्दाले पनि पुलको निर्माण कार्य अब थप लम्ब्याउन नहुने र बाँकी काम गुणस्तरीय ढङ्गले समयमै सम्पन्न गर्नुपर्ने माग गर्दै आएका छन्। वर्षौँदेखि आश्वासन र प्रतीक्षामा रहेका नागरिकका लागि पुल सञ्चालनमा आउनु केवल एउटा भौतिक संरचना निर्माण हुनु मात्र नभई सुरक्षित आवागमन, आर्थिक अवसर र सहज जनजीवनसँग जोडिएको विषय हो।
१२ वर्षअघि सुरु भएको टिकुलियाघाट पुल निर्माणको यात्रा अब अन्तिम चरणमा पुगेको छ। मुख्य संरचना तयार भइसकेको अवस्थामा बाँकी काम सम्पन्न गरी पुललाई सुरक्षित रूपमा सञ्चालनमा ल्याउन सके गौर–ईशनाथ क्षेत्रका हजारौँ नागरिकको लामो प्रतीक्षा सार्थक हुनेछ। बाढीका बेला डुङ्गा दुर्घटनाको त्रास भोग्दै आएका स्थानीयका लागि यो पुल सुरक्षित यात्राको माध्यम मात्र नभई विकास, सुविधा र समृद्धिको नयाँ ढोका बन्ने अपेक्षा गरिएको छ।





