
काठमाडौं- नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा वडादेखि केन्द्रीय सभापतिसम्मका लागि उम्मेदवारी शुल्क प्रस्ताव गरिएको छ।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समितिले बनाएको निर्देशिका पेश गरेका हुन्।
बैठकमा महाधिवेशनमा मनोनयन शुल्क बढाउन प्रस्ताव समेत गरिएको छ। सभापतिको मनोनयन शुल्क ३० हजार, उपसभापतिको २५ हजार, महामन्त्रीको २५ हजार, सहमहामन्त्रीको २० हजार र केन्द्रीय सदस्यले १० हजार उम्मेदवार मनोनयन शुल्क बुझाउनुपर्ने प्रस्ताव गरिएको छ।
त्यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि ५ हजार प्रस्ताव गरिएको छ भने केन्द्रीय महासमिति सदस्यका लागि ७ हजार प्रस्ताव गरिएको छ।
प्रदेश सभापतिको उम्मेदवारका लागि १५ हजार, जिल्ला सभापतिको उम्मेदवार बन्न १० हजार, प्रतिनिधि सभा क्षेत्रको सभापतिको उम्मेदवार बन्न ७ हजार, प्रदेश सभा क्षेत्रको सभापतिको उम्मेदवार बन्नका लागि ५ हजार प्रस्ताव गरिएको छ।
गाउँ र वडा तहको शुल्क भने सबैभन्दा कम राखिएको छ । गाउँ र नगर वडा कार्यसमितिको सभापतिको पदका लागि ५ सय प्रस्ताव गरिएको छ। केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि शुल्क लागू हुने छ।