जीवनराज दाहाल – तिथि, मिति, चाडपर्व तथा विभिन्न उपयोगी सुविधासहित नेपालमा सबैभन्दा धेरै डाउनलोड गरिएको लोकप्रिय एप्लिकेसन ‘हाम्रो पात्रो’ बाट पनि अब युट्युब, टिकटक र फेसबुकले जस्तै नेपाली प्रयोगकर्ताले कन्टेन्ट सिर्जना गरेर आम्दानी गर्न सक्ने भएका छन् ।
प्रयोगकर्ता तथा कन्टेन्ट क्रिएटरहरूले हाम्रो पात्रो सर्कलमा फोटो, भिडियो, स्टोरी तथा स्टेटसजस्ता सामग्री पोस्ट गरेर आम्दानी गर्ने छन् ।



सर्कलमार्फत आम्दानी गर्न चाहने प्रयोगकर्ताले सुरुमा आफ्नो सर्कल एकाउन्ट बनाउनुपर्नेछ । त्यसपछि तोकिएका मापदण्ड पूरा गरी मोनेटाइजेसनका लागि आवेदन दिन सक्नेछन् ।
सर्कल एकाउन्ट कसरी बनाउने ?
सर्वप्रथम गुगल प्ले स्टोरमा गएर ‘हाम्रो पात्रो’ एप डाउनलोड गर्नुपर्नेछ । यसअघि नै एप प्रयोग गरिरहेका प्रयोगकर्ताले नयाँ संस्करणमा अपडेट गर्नुपर्ने हुन्छ ।
एप खोलेपछि होमपेजको माथिल्लो दायाँ भागमा रहेको प्रोफाइल आइकनमा क्लिक गरी गुगल वा फेसबुकमार्फत लगइन गर्न सकिन्छ । त्यसपछि ‘Agree & Share’ मा क्लिक गरी आफ्नो मोबाइल नम्बर राखेर ‘Send Code’ थिच्नुपर्छ । मोबाइलमा प्राप्त ओटीपी (OTP) कोड भेरिफाई भएपछि आफ्नो नाम, थर, लिङ्ग र जन्ममिति लगायतका विवरण भर्नुपर्नेछ ।
त्यसपछि आफ्नो परिचय खुल्ने छोटो जानकारी, प्रोफाइल फोटो र कभर फोटो राख्न सकिन्छ । सिस्टमले स्वतः युजरनेम तयार गर्छ, जसलाई आवश्यकताअनुसार परिवर्तन गर्न पनि सकिन्छ ।
अन्त्यमा ‘Finish’ र ‘Continue’ प्रक्रिया पूरा गरी आवश्यक पेजहरू फलो गरेपछि ‘Open Circle’ मा क्लिक गर्दा सर्कल एकाउन्ट तयार हुन्छ । एकाउन्ट तयार भएपछि प्रयोगकर्ताले फोटो, भिडियो, स्टोरी, मोमेन्ट्स तथा स्टेटस पोस्ट गर्न सक्नेछन् । साथै सामग्री सेड्युल गर्न र ड्राफ्टमा सुरक्षित राख्न सकिने सुविधा पनि उपलब्ध छ ।
मोनेटाइजेसनका लागि के–के मापदण्ड पूरा गर्नुपर्छ ?
हाम्रो पात्रो सर्कल एकाउन्टलाई मोनेटाइज गर्नका लागि ‘Circle Studio’ मार्फत आवेदन दिन सकिन्छ । त्यसका लागि क्रोम वा अन्य वेब ब्राउजरबाट studio.hamropatro.com मा जानुपर्नेछ ।
त्यहाँ रहेको ‘Get Started’ मा क्लिक गरी सर्कल एकाउन्टमा प्रयोग गरिएको गुगल एकाउन्टबाट लगइन गरेपछि ‘Monetization Criteria’ मा मोनेटाइजेसनका लागि आवश्यक मापदण्ड हेर्न सकिन्छ ।
उपलब्ध विवरणअनुसार मोनेटाइजेसनका लागि निम्न मापदण्ड पूरा गर्नुपर्नेछ :
- कम्तीमा १ हजार फलोअर्स (1,000 Followers) हुनुपर्ने।
- पछिल्लो १२ महिनाभित्र कम्तीमा १ हजार घण्टा वाच टाइम (1,000 Hours Watch Time) पूरा भएको हुनुपर्ने ।
उल्लिखित मापदण्ड पूरा भएपछि ‘Apply for Monetization’ मा क्लिक गरी आवेदन दिन सकिन्छ । आवेदन प्राप्त भएपछि हाम्रो पात्रोको टोलीले प्रयोगकर्ताले पोस्ट गरेका फोटो, भिडियो तथा स्टेटसको गुणस्तर र फलोअर्सलगायतका विवरण समीक्षा गर्नेछ । समीक्षा प्रक्रिया पूरा भएपछि योग्य एकाउन्टलाई मोनेटाइजेसनका लागि स्वीकृति प्रदान गरिनेछब।
कमाएको पैसा कसरी प्राप्त गर्ने ?
सर्कलमार्फत मोनेटाइजेसनबाट आम्दानी गर्न थालेपछि उक्त रकम प्राप्त गर्न ‘हाम्रो पे’ (Hamro Pay) एकाउन्ट सेटअप गर्नुपर्नेछ । कम्तीमा १००० रुपैयाँ भएपछि हाम्रो पे एकाउन्टमार्फत सर्कलबाट कमाएको रकम प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
यसरी नेपाली प्रयोगकर्ताले परिचित सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मको विकल्पका रूपमा हाम्रो पात्रो सर्कललाई पनि आम्दानीको माध्यम बनाउन सक्ने भएका छन् । विशेषगरी नियमित रूपमा डिजिटल सामग्री उत्पादन गर्ने कन्टेन्ट क्रिएटर, भिडियो निर्माता तथा सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि यो नयाँ अवसर बन्न सक्ने देखिन्छ ।




