जनकपुरधाम- महोत्तरीको बर्दिबासमा मधेस प्रदेशका पत्रकार अजयकुमार साह माथि भएको दुर्व्यवहार र ज्यान मार्ने धम्कीको घटनाले सञ्चार क्षेत्र तरंगित बनेको छ। यस घटनाको नेपाल पत्रकार महासंघ लगायत विभिन्न संचार सम्बद्ध सैघसंस्थाहरुले छुट्टाछुट्टै विज्ञप्ती जारी गरी घटना निन्दा र भत्सर्ना गर्दै दोषीलाई अबिलम्ब कार्वाहीको माग गरेको छ। नेपाल पत्रकार महासंघका मधेस प्रदेश समिति, महोत्तरी र धनुषा शाखाले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै घटनाको कडा शब्दमा निन्दा गरेका छन् र दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेका छन्।
त्यसैगरी बर्दिवास नगरपत्रकार संजाल र मिथिला नगरपत्रकार संजाल लगायतका विभिन्न संघसंस्थाले विज्ञप्ती जारी गर्दे घटना निन्दा र भत्सर्ना गर्दै दोषीलाई अबिलम्ब कार्वाहीको माग गरेको छ। विज्ञप्तिअनुसार, बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कोषाध्यक्ष भोजप्रसाद फुयाल (शंकर) ले समाचार सम्प्रेषणकै विषयलाई लिएर पत्रकारमाथि सार्वजनिक स्थानमै गालीगलौज, दुर्व्यवहार गर्नुका साथै ज्यान मार्ने धम्की दिएका थिए।



साहले लेखेको रातोपाटी डटकममा वैशाख १० गते प्रकाशित “बर्दिबास खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको विवाद छताछुल्ल” शिर्षक समाचारको सन्दर्भमा उसको अनुकुलको समाचार नआएको भनेर कोषाध्यक्ष फुयालले गालीगलौज, दुर्व्यवहार गर्नुका साथै ज्यान मार्ने नै धम्की दिएको हो । नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले घटनालाई गम्भीर रूपमा लिँदै यस्ता गतिविधिले प्रेस स्वतन्त्रतामाथि ठाडो प्रहार गरेको जनाएको छ। “समाचारप्रति असहमति भए कानुनी बाटो अवलम्बन गर्न सकिने भए पनि पत्रकारमाथि आक्रमण गर्नु अस्वीकार्य छ,” विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी, धनुषा शाखाले पनि प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएको उल्लेख गर्दै पत्रकारमाथि भएको धम्की, डरत्रास र दुर्व्यवहारलाई अत्यन्त निन्दनीय र असह्य कार्य भनेको छ। महासंघले यस्ता घटनाले न केवल पत्रकारको व्यक्तिगत सुरक्षामाथि प्रश्न उठाउने, तर समग्र अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमा समेत आघात पुर्याउने चेतावनी दिएको छ। महासंघले घटनामा संलग्न व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न, पीडित पत्रकारको सुरक्षा सुनिश्चित गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी संयन्त्र निर्माण गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। यस घटनाले फेरि एकपटक देशमा पत्रकारहरूको सुरक्षा र प्रेस स्वतन्त्रताको अवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ।
बिज्ञप्तिहरु









