सुनिता बराल,महोत्तरी - ‘अरु काम गर्न पढाइ छैन, सिलौटो बेचेर पेट भर्दैन, दुख सुनाइसाध्य भएपो सुनाउनु, यहाँ हाम्रो दुख सुनिदिने को छ र ?,’ गौशाला–२ की विन्दीदेवी थवैले सिलौटो खोप्दा हातभरी लागेका चोट देखाउँदै भनिन्, ‘दु:ख धेरै छ, तर कमाइ छैन ।’

पुस्तैनी पेसा र आफूले जानेको सिलौटो बनाउने कामको व्यापार सुक्दै गएकाले परिवार पाल्न निकै समस्या भएको उनले सुनाइन् ।
एकवर्ष पहिले श्रीमान् सुधीर थवैको मृत्यु भएपछि परिवारको जिम्मेवारी विन्दीकै काँधमा छ । परिवार पाल्न धौधौ भएपछि आफ्ना दुई सन्तानको सहायतामा उनी अहिले सिलौटो र ढुंगाका अन्य संरचना विभिन्न ठाउँमा बिक्रीका लागि पुर्याइरहेकी छन् । पहिले मधेशमै सजिलै बेचिने सिलौटो अहिले टोलटोल घुमाउँदा समेत बिक्री नहुने उनले सुनाइन् ।
सिलौटो ढुवानीका लागि उनले ५० हजार रुपैयाँमा दुई वटा घोडा किनेकी छन् । छोरा सागरले घोडामा बोकाएर सिलौटो बिक्रीका लागि गाउँ घुमाउने गरेको उनले बताइन् । श्रीमान् लामो समयदेखि बिरामी परेकाले छोराले पढ्न नपाएको र बुबाको मृत्युपछि कक्षा ८ पढ्दै गरेकी छोरी प्रियंकाको पनि पढाई छुटाउनु परेको उनले सुनाइन् ।
सागर अहिले १८ वर्षका छन् । मधेश प्रदेशका आठ जिल्लासँगै सिन्धुली र उदयपुरसम्म घोडामै सिलौटो लिएर जाने गरेको सागरले बताए । एउटा घोडामा ६ वटासम्म सिलौटो र जाँतो राखेर १० दिनसम्म लगाएर बेच्ने गरेको सागरले सुनाए । प्रियंका भने आमा विन्दीका साथमा बिहानैदेखि सिलौटो खोप्ने काममा लाग्छिन् ।
आमाले गरेको हेरेरै काम सिकेको उनले सुनाइन् । उनी विभिन्न रंगका बुट्टा बनाएर दैनिक दुई वटासम्म सिलौटो तयार पार्छिन् । पढाई छाडेर ढुंगाको काम थाल्दा उनी खुशी छैनन् । ‘पढ्न पाएको भए राम्रै काम पाउँथे होला,’ उनले भनिन्, ‘आमाले पढाउन सक्दिन भनेपछि पढाई छोड्नै पर्यो ।’
१२ वर्षकी छोरी आशा र १० वर्षको छोरा गोलुलाई जसोतसो पढाइरहेको विन्दीले बताइन् । उनीहरु अहिले बर्दिवास–१ स्थित बजारनजिकै कोठा लिएर बसेकी छन् । बजारनजिकै बस्न पाए बनाएकै ठाउँबाट पनि व्यापार हुने आशाले बर्दिवासमा बसेको उनले सुनाइन् । व्यापार नभएपछि बनेर थुप्रिने सामान बेच्न विन्दी आफैं छोरा सागरको साथमा विभिन्न ठाउँमा सिलौटो बिक्रीका लागि पुग्छिन् । ६ महिनाअघि काठमाडौंमा १३ दिन बसेर ३५ वटा सिलौटो र अन्य सामान साइकलमा घुमाएर बेचर फर्किएको उनले सुनाइन् ।
त्यस्तै दोलखा, विराटनगरलगायतका धेरै ठाउँ पनि पुग्ने गरेको विन्दीले सुनाइन् । हाटबजारमा पनि बिक्री नहुने गरेको उनको भनाइ छ । उनीहरुले सिलौटोसँगै ढुङ्गाबाट खलौटो, जातो, लोहोरो, ओखली, चनौटोलगायतका सामान तयार गर्छन् । सिलौटो ४ देखि ५ सय रुपैयाँ र जाँतो ९ सयसम्ममा बिक्री हुने सागरले बताए । चन्दन घोट्न प्रयोग हुने चनौटोको भाउ ५० रुपैयाँ राखेको उनले बताए ।

विन्दीसँगै सिलौटाकै व्यापार गर्ने इन्दुदेवी थवै पनि व्यापार नभएकाले अब यही पेसा गरेर खान नसक्ने अवस्था भएको बताउँछिन् । ५ जनाको परिवारमा ४ जनाले काम गर्दा पनि समस्या भइरहेको उनले बताइन् । उनका छोरा सोनल पहाडका खोलामा ढुंगा फुटाउन गएको ४ दिन भैसकेको छ । सोनल ढुंगा जम्मा गर्छन् भने बुहारीसँगै ६२ वर्षकी इन्दुदेवी हातमा हतौडा र छिनो लिएर सिलौटो खोपिरहेकी हुन्छिन् ।
मसला पिस्न घरघरमा विजुलीबाट चल्ने मेसिनकाे प्रयाेग बढ्न थालेपछि सिलौटोको व्यापार निकै कम भएको विन्दी बताउँछिन् । पहिले सिलौटोको व्यापार राम्रो हुदाँ गौशालामा ३ लाखमा ६ धुर जग्गा जोडे पनि कमाई सुक्दै गएपछि अहिले छाक टार्न समेत मुस्किल बन्दै गएपछि पेसा नै बदल्नुपर्ने चिन्ता आइलागेको विन्दीले बताइन् ।
विभिन्न खोलाबाट फुटाएर ल्याउने ढुंगाका लागि पनि ठाउँठाउँमा मनोमानी पैसा माग्ने गरेकाले एक गाडी ढुंगा ल्याउन ५ देखि १० हजार रुपैयाँ खर्च हुने गरेको उनले दुखेसो गरिन् । अहिले महिनाको कमाई १० देखि १२ हजार रुपैयाँ कमाइ भइरहेकाले कोठाभाडा तिरेर खानलाउन समेत धौधौ भएको उनले बताइन् ।-कान्तिपुर




