
महोत्तरी — भंगाहा नगरपालिका-४ को थारुटोलका सुकुम्बासीलाई जग्गा दिलाउन भन्दै पीडित परिवारले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । चार पुस्ताले भोगचलन गर्दै आएको जग्गाको समेत आफूहरुले लालपूर्जा नपाएको भन्दै उनीहरुले बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउँदै जग्गा दिलाउन माग गरेका हुन् ।
सुकुम्बासी बस्तीको जग्गा सुकुम्बासी समस्या समाधान गर्न बनेको आयोगले नै २०५४ सालमा आफूहरुलाई जग्गा नदिएर अन्याय गरेको उनीहरुको गुनासो छ ।
पुस्तौँदेखि बसोबास गर्दै आएको जग्गा भुमि आयोगका पदाधिकारीले आफन्त र नजिकका मान्छेको नाममा लालपुर्जा बनाएर वितरण गरेको उनीहरुले गुनासो गर्दै आएका छन् । मुसहर, बाँतर, सरदार, चमार र थारु जातिको बाहुल्य रहेको बस्तीको जग्गा आगोगका तत्कालीन जिल्ला अध्यक्षले विभिन्न ठाउँ र पर्सादेखि भोजपुरसम्मका मानिसको नाममा वितरण गरिदिएको उनीहरुको गुनासो छ ।
सुकुम्बासी बस्तीको ४५ विघाह क्षेत्रमा १ सय ८७ सुकुम्बासी परिवारको बसोवास रहेको छ । पीडिततर्फका प्रतिनिधि कैलाश चौधरीले हस्ताक्षर गरेर प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा लामो समयदेखि आफ्नो नाममा जग्गा उपलब्ध गराइदिन संघर्ष गर्दै आएको भएपनि २०७४ सालपछि स्थानीय निर्वाचित जनप्रतिनिधिबाटै भुमाफिया र तत्कालीन आयोगका अध्यक्ष मिलेर सुकुम्बासी बस्तीको जग्गा धमाधम बिक्री गर्न थालेको उल्लेख छ ।
उनीहरुले प्रधानमन्त्रीलाई भेटेर २०५४ को सुकुम्बासी समस्या समाधान आयोगको निर्णय अभिलेख र प्रमाण पूर्जा तत्काल खारेज गर्नुपर्ने, जग्गाको वडा र नगरबाट सिफारिस दिन बन्द गर्नुपर्ने, पहिला जारी भएका पूर्जा खारेज र सुकुम्बासीले जोतभोग गरेका आधारमा पूर्जा दिनुपर्ने लगायत माग गरेका छन् ।
ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री दाहालले उक्त सुकुम्बासी बस्तीको जग्गाका विषयमा छानविन गर्न तत्काल छानविन समिति बनाउने बताएका छन् ।