राजकरण महतो- बर्दिवास
आहा ! घोंघीको स्वाद । बेजोड छ । कटियाको मासु हेर्दै जीब्रो रसाउँछ । फापरको ढिढो खाउँ-खाउँ लाग्छ । नेवारी खाजा खाना अनि मधेसको बगियाँ, पुरी र तरुवाको स्वाद चाख्नेहरु भिडै भिड छ । खाना पछिको स्वादिष्ठ मिठा पानको स्वाद जीब्रोले छोड्नै मान्दैन ।
अहिले महोत्तरीको बर्दिबासमा साँझ हुने बित्तिकै रैथानै खानाको स्वाद चाख्नेहरुको भिडै लाग्छ । वरिपरीका बस्तीमा साँझको खाना पाक्ने छोडेको छ । शनिबारदेखि सुरु भएको महोत्तरी खाना महोत्सवमा रैथाने खाना खानेहरु आउने गर्छन । जहाँ मधेसका सयौं थरीका परिकारहरु पस्किएको छ । बर्दिबासकी अमृता कुमारी महतो भन्छिन्, ‘जीवनमा पहिलो पटक एकै ठाउँमा यतिधेरै परिकारहरु खान पायौं ।’ परिवारसहित महोत्सवमा पुग्दा छुट्टै आनन्द आएको बताइन् ।
मधेस प्रदेशको फरक -फरक संस्कृतिका परिकार, गीतसंगीत र पहिरणले बर्दिबास उत्सवमै बनेको छ । स्टेजमा गीत गाउँदै गायक झोकिलाल महतो भन्छन्, स्वर्ग सँ सुन्दर हमर बर्दिबास !
गायक महतोको गीतले समाजिक एकता, थरिथरीका रितिथिति र संस्कृतिको वर्ण गर्छ । यो बर्दिबासको मात्रै होइन् यो देशैको सांस्कृतिक धरोहर भएको संरक्षण र सम्बद्र्धनको गायक महतोले माग गरे ।
होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले बर्दिबासका पहिलो पटक खाना महोत्सवको आयोजन गरेको छ । होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हीरा गौतमले मधेस प्रदेशका सबै जिल्लामा खाना महोत्सव लगाउने बताउँछन् । ‘महोत्सवमा सानादेखि तारे होटलको सेवा छ’, उनले भने, ‘हामीले कमाउने भन्दा पनि खानाको प्रचारप्रसार र पर्यटन प्रबद्र्धका लागि महोत्वस लगाएका हौं ।’
पूर्व-पश्चिम महेन्द्र राजमार्ग र विपी राजमार्गको बर्दिबास-सिन्धुली-खुर्कोट सडक खण्डको केन्द्र विन्दु बर्दिबास चोकमा खाना महोत्सव लगाइएको छ । महोत्सव फागुन ७ गतेसम्म चल्ने छ ।
होटल तथा पर्यटन व्यवसाी संघ महोत्तरीका अध्यक्ष गोपाल (गुञ्ज) कार्कीले स्वादिलो खाना सस्तो मुल्यमा सबैलाई उपलब्ध गराउन सडक खाना महोत्सव लगाएको बताउँछन् ।
बर्दिबाससंग प्राकृतिक चुरिया पहाडका पाखापखेराहरु छाँटाहरु भएकाले पर्यटनको प्रचुर सम्भावना रहेको बर्दिबास उद्योग बाणिज्य संघका अध्यक्ष बिष्णु खड्काले औंल्याउँछन् ।
‘हामीले पर्यटन तथा व्यपार प्रबद्र्धनका लागि मेला-महोत्सव लगाउँदै आएका छौं’, उनी भन्छन्, ‘ बर्दिबासको ४०-५० बर्षको व्यापारिक इतिहासमा छुट्टै खालको खाना महोत्सव आयोजन भयो । यसले दुर्गामी महत्व राखेको छ ।’
बर्दिबासमा पर्यटन क्षेत्र विस्तारका लागि तीनै तहको सरकार लाग्नु पर्ने बताउँदै थपे, ‘अहिले हामी पर्यटनको सम्भावना भएका स्थानहरुको खोजी गर्न पैदल यात्रा गरिरहेका छौं । अब पर्यटन क्षेत्रको बिस्तारमा तीनै तहको सरकार लाग्नु पर्छ ।’
बर्दिबास होटल र शिक्षाको हब बन्दै गएको छ । अब पर्यटनको हब बनाउन बर्दिबास नगरपालिका योजना बनाएर काम गरिरहेको मेयर प्रह्लाद कुमार क्षेत्रीले सुनाउँछन् ।
‘यहाँ होटल धेरै भयो । यसलाई व्यवस्थि गर्न र पर्यटनको सम्भावनाहरुको खोजि गर्दै विकास गर्न हामी योजना बनाएर अघि बढेका छौं’, मेयर क्षेत्रीले भन्छन्, ‘पर्यटन तथा सांस्कृतिक प्रवद्र्धन समिति गठन गरेर काम अघि बढाएका छौं । ’ बर्दिबासमा रामजानकी फन पार्क र ताल बनाउने योजना अघि सारेको उनले सुनाए ।