महोत्तरी - छठ पर्व आउन अब एघार दिन बाँकी रहँदा तराई–मधेशका डोम समुदायमा उल्लास छाएको छ। हाल उनीहरू डालो, नाङ्लो र टालुटपरी बनाउने काममा व्यस्त छन् । औरही नगरपालिका–१ औरहीका ५० वर्षीय ईन्दल मलिकका अनुसार जीवनका हरेक दुःख–सुख बिर्सेर मिठो मसिनो खाने र राम्रो लगाउने पर्व नै छठ हो । उहाँले असोज महिनादेखि नै डालो, नाङ्लो र टपरी बनाउन सुरु गरेको बताउनुभयो ।

छठ पर्वमा सूर्यदेव र छठमातालाई बाँस तथा बेतबाट निर्मित डालो, नाङ्लो र टालुटपरीमा अर्घ्य दिने परम्परा रहेकाले हाल ती सामग्रीको माग बढेको स्थानीय जिना मलिक र सबिता मलिक डोमले जानकारी दिनुभयो ।“छठका बेला सुपली, ढालाजस्ता सामग्री बनाउँछौं ।

बाँकी समयमा विवाहमा आवश्यक पर्ने डालाजस्ता सामग्री बनाएर गाउँ–गाउँमा बिक्री गर्छौं,” सबिता मलिकले बताउनुभयो । अन्य समयमा पुर्खौली पेसाबाट घरखर्च चलाउन मुस्किल हुने डोम समुदाय अहिले छठ पर्व नजिकिँदै जाँदा आम्दानीका स्रोत बढेपछि खुसी भएका छन् । उनीहरूले बर्सेनि छठ पर्वमा बाँसका सामग्री बिक्री गरेर मनग्य आम्दानी गर्ने गरेको बताइन्छ ।

गौशाला नगरपालिका वडा ५ गौशालाकी ६० वर्षीया सबिता मलिकका अनुसार “कात्तिक लाग्ने बित्तिकै बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालुटपरी बनाउनमै तल्लीन हुन्छौं, ती सामग्री बजारमा बेच्दा राम्रो आम्दानी हुन्छ ।” छठ मनाउने घर–घरमा सूर्यदेव र छठमातालाई अर्घ्य दिने उद्देश्यले बाँस र बेतकै चोयाबाट बनेका पाँचदेखि सातवटा सामग्री आवश्यक पर्ने जनाइएको छ। औरही नगरपालिका ६ बैरियाका राजेन्द्र मलिकले डालो, नाङ्लो र दुनाटपरी बेचेरै वर्षभरको खर्च जोहो गर्ने गरेको बताउनुभयो ।

त्यस्तै, सम्सी गाउँपालिकाका राजेश मलिकका अनुसार घरका बालकदेखि बुढासम्मले सामूहिक रूपमा बाँसका सामग्री बनाएर प्रतिव्यक्ति ४० देखि ५० हजार रुपैयाँसम्म र परिवारका हिसाबले दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गर्छन् ।

हाल जिल्लाका अधिकांश गाउँमा डोम समुदायका घर–घरमा बाँस र बेतको थुप्रो देखिन्छ । परिवारका सबै सदस्य बाँसका चोया चिर्दै डालो, नाङ्लो, टालु र दुनाटपरी बनाउन व्यस्त छन् । दिनदिनै छठ मनाउनेको संख्या बढ्दै जाँदा बाँसका सामग्रीको माग पनि तीव्र भएको छ ।

माग अनुसार उत्पादन गर्न नसक्दा डोम समुदायलाई कठिनाइ भइरहेको छ भने बजारमा ती सामग्री किन्नेको भिडभाड बढ्दो क्रममा रहेको स्थानीयवासीले बताएका छन् ।




