महोत्तरी। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं.२ ले सीपमूलक कार्यक्रम अन्तर्गत ३५ दिने डल कुशन सम्बन्धी तालिम सञ्चालन गरेपछि महिलाहरु रमाई रमाई डल कुशन बनाउन सिक्दैछन् ।
नगरपालिकाका गृहिणीहरु अहिले सखारै घरको कामधन्दा सकाएर तालिमको लागि समयमै वडा कार्यालयको सभाहलमा पुगेर तालिममा व्यस्त हुन थालेका छन् । माघ १८ गतेदेखि सञ्चालन भइरहेको तालिमबाट महिलाहरु डल कुशन बनाउन थालिसकेका छन् ।




गृहिणीहरुलाई व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको तालिममा सहभागी लक्ष्मी कर्णले घरको कामसंगसंगै आयआर्जनको कामहरु समेत घरमै बसेर हुने भएपछि आफु यस तालिमप्रति आकर्षित भएको जानकारी दिनुभयो ।
उहाँले तालिममा पाएको ज्ञानबाट आयआर्जनका साथसाथै कसैलाई उपहार दिन तथा घर सजाउन समेत मद्दत पुग्ने भएपछि नगरपालिकाका धेरै महिलाहरु तालिममा आकर्षित भएको बताउनुभयो । अहिलेसम्म आफुहरु भालुसहितका अन्य जनावरहरुको चित्राँकित डल कुशन बनाउने तरिका सिकिसकेको र अझै सिकाई चलिरहेको बताउनुभयो ।जलेश्वर नगरपालिका वडा नं. २ को सहयोग तथा जलेश्वर युवा कमिटीको आयोजनामा भइरहेको तालिममा ३४ जना महिलाहरु सहभागी छन् । तालिममा मनिषा मण्डल र आरती पासवान प्रशिक्षक रहनुभएको छ ।

जलेश्वर नगरपालिका वडा नं. २ का वडाध्यक्ष बरुण दाहालले वडाका गृहिणी महिलाहरुलाई आयआर्जनतर्फ आकर्षित गर्न तथा स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको जानकारी दिनुभयो । यसक्षेत्रका महिलाहरु अझै पनि पुरुष प्रति आश्रित रहेकोले भोलीका दिनमा महिलाहरु सीप सिकेपछि आत्मनिर्भर बन्न सक्ने अभिप्रायले सीपमूलक कार्यक्रम अन्तर्गत तालिम आयोजना गरिएको र महिलाहरु समेत उत्साहित भएको बताउनुभयो ।
जलेश्वर युवा कमिटीका अध्यक्ष गजेन्द्र गुप्ताले यस किसिमका कार्यक्रमले महिलाहरुमा सकारात्मक सोचको अभिवृद्धि हुनुका साथै स्वावलम्वन र आत्मनिर्भर बनाउन सघाउ पुग्ने भएकोले तालिम आयोजना गरिएको बताउनुभयो ।उहाँले यस तालिमको लागि वडा कार्यालयले पाँच लाख रुपैया विनियोजन गरेको बताउनुहुदै डल कुशनको बजारीकरणमा समस्या नरहेकोले महिलाहरु यसप्रति आकर्षित भइरहेको बताउनुभयो ।

डल कुशन तालिमको अनुगमन गर्नुभएका जलेश्वर नगरपालिकाका उपप्रमुख रौशन खातुनले महिलाहरुलाई आत्मनिर्भर बनाउन सीपहरुको आवश्यकता भएकोले नगरपालिकाले सीपमूलक तालिमहरुलाई बढाउने तथा महिलाहरुलाई आकर्षित गर्ने कार्यक्रमहरु गरिरहेको जानकारी दिनुभयो ।




