महोत्तरी – देशकै पहिलो विद्यालयका रूपमा परिचित महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले रसुवाको भोटेकोशी बाढी तथा प्राकृतिक विपत्तिमा परी अनाथ भएका १० जना छात्रको कक्षा ८ देखि १२ सम्मको सम्पूर्ण शैक्षिक दायित्व ग्रहण गर्ने घोषणा गरेको छ।भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा सरकारले सोमबार आयोजना गरेको राष्ट्रिय शोक दिवसका अवसरमा गुरुकुलले उक्त घोषणा गरेको हो।
गुरुकुलका गोठालो (प्रधानाध्यापक) ईश्वरी पौडेलले वक्तव्य जारी गर्दै विपत्तिका कारण अभिभावकविहीन बनेका बालबालिकाको भविष्य अन्धकारमा पर्न नदिन मानवीय दायित्व निर्वाह गर्ने उद्देश्यले १० जना छात्रको शैक्षिक जिम्मेवारी लिन लागेको बताउनुभयो।
“अभिभावक गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन। तर ती बालबालिकाको भविष्य पनि अन्धकारमा पर्न नदिनु हाम्रो साझा मानवीय दायित्व हो। त्यसैले गुरुकुल परिवारले बाढी तथा विपत्तिका कारण अनाथ बनेका १० जना छात्रको कक्षा ८ देखि कक्षा १२ सम्मको सम्पूर्ण शैक्षिक दायित्व ग्रहण गर्ने संकल्प गर्दछ”, उहाँले वक्तव्यमा उल्लेख गर्नुभएको छ।



मटिहानी नगरपालिका–७ मा रहेको उक्त विद्यालय विसं १७५० मा सेन वंशको समयमा स्थापना भएको नेपालको पहिलो गुरुकुलका रूपमा परिचित छ। प्रधानाध्यापक पौडेलले दुःखद् घडीमा मानवीय सेवाको महत्वपूर्ण संकल्पसहित गुरुकुल अघि बढ्न चाहेको बताउनुभयो।उहाँका अनुसार ती छात्रलाई विद्यालयमा भर्ना गरी शिक्षा प्रदान गर्नुका साथै उनीहरूको भविष्य निर्माणमा अभिभावकीय जिम्मेवारी र आत्मीयता प्रदान गर्ने प्रयास गरिनेछ। “आज उनीहरू विपत्तिका पीडित भए पनि भोलि यही देशका कर्णधार बन्नेछन्। उनीहरूको हातमा कलम दिनु, आँखामा भविष्यको सपना जगाउनु तथा शिक्षित, संस्कारित र सक्षम नागरिक बनाउनु नै सच्चा अभिभावकीय भूमिका हो”, उहाँले भन्नुभयो।
उहाँले विपत्तिको समयमा सबैले आफ्नो क्षमता र सामर्थ्यअनुसार पीडित बालबालिकाको भविष्य निर्माणमा हातेमालो गर्नुपर्ने बताउँदै यस कार्यमा सहयोग गर्न सबैमा आह्वान गर्नुभयो।एउटा बालकको शिक्षा बचाउनु भनेको एउटा परिवारको भविष्य बचाउनु भएको उल्लेख गर्दै उहाँले १० जना छात्रको भविष्य जोगाउनु भनेको देशका १० जना भावी कर्णधार तयार गर्नु भएको बताउनुभयो। विपत्तिले खोसेको अभिभावकको स्थान पूर्ण रूपमा लिन नसके पनि उनीहरूको शिक्षा, संस्कार, सपना र भविष्यको सहयात्री बन्ने गुरुकुलको दृढ संकल्प रहेको उहाँको भनाइ छ।
यसैबीच, गुरुकुलले रसुवामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा प्रभावित सबैमा दुःख सहन सक्ने धैर्य र शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ।




