काठमाडौं – नेकपा (एमाले) को नेतृत्वमा नयाँ गठबन्धन बनेपछि दलहरू भागबन्डा मिलाउन लागिपरेका छन् । अहिले गठबन्धनमा एमालेसहित नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) छन् ।
यसअघि सोमबार साँझ बसेको गठबन्धनसम्बद्ध दलहरूको बैठकले गठबन्धनमा मिसिने दलहरूको सङ्ख्या ‘फिक्स’ गरेर मात्रै भागबन्डा टुङ्ग्याउने सहमति गरेका छन् । गठबन्धनमा नेकपा (एकीकृत समाजवादी), जनमत पार्टीलगायतका दलहरूलाई मिसाउने तयारी भइरहेको छ ।



यसअघि सोमबार नै एमालेका पदम गिरी, माओवादी केन्द्रका हितबहादुर तामाङ र रास्वपाका डोलप्रसाद अर्यालले बिनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गरिसकेका छन् । भागबन्डा टुङ्गिएपछि उनीहरूले मन्त्रालय पाउनेछन् ।
यसैबीच एमालेले भने आफूले पाउने मन्त्रालयहरूमा यसअघिकै मन्त्रीहरू पठाउने तयारी गरेको छ । यसअघि २०७९ पुस १० गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा बनेको सरकारमा सहभागी भएका उनीहरूलाई पुन: पठाउने तयारी भएको एमालेका एक नेताले बताए ।
अध्यक्ष केपी शर्मा ओलीले आफूनिकटका नेताहरूलाई यस्तो ब्रिफिङ्ग गरेको ती नेता सुनाउँछन् । यसअघि विष्णुप्रसाद पौडेल र विमला राई पौड्यालबाहेकका मन्त्रीहरू ३२ दिनमात्रै पदमा रहेका थिए । त्यसपछि प्रधानमन्त्री प्रचण्ड गठबन्धन परिवर्तन गर्दा उनीहरूको पद खुस्किएको थियो ।
यसअघिको सरकारमा विष्णुप्रसाद पौडेल (अर्थ), विमला राई पौड्याल (परराष्ट्र), ज्वालाकुमारी साह (कृषि), हरि उप्रेती (रक्षा), पदम गिरी (स्वास्थ्य), राजेन्द्र राई (भूमि व्यवस्था), भगवती चौधरी (महिला तथा बालबालिका) र दामोदर भण्डारी (उद्योग) मन्त्री थिए ।
त्यसबेला परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेकी विमला राई पौड्यालले भने आफ्नो ६ वर्षे राष्ट्रियसभा कार्यकाल टुङ्ग्याएर बिदा भइसकेकी छन् । उनको साटोमा महिलालाई नै अघि बढाउने तयारी भएको नेताहरूले बताएका छन् ।
यस्तै यसअघि अर्थमन्त्री बनेका विष्णप्रसाद पौडेल पनि सरकारमा जाने छैनन् । अहिले अर्थ मन्त्रालय माओवादी केन्द्रले लिने लगभग सहमति बनिसकेको छ । त्यसकारण उनी मन्त्री बन्ने छैनन् ।




