
ढल्केवर, धनुषा
धनुषाको गणेशमान चारनाथ नगरपालिकाको विरेन्द्रबजारमा सुरु भएको ‘वृहत्त शान्ति फुटबल प्रतियोगिता २०७८’ शनिबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा तेमाल फुटबल क्लब काभ्रे विजयी भयो । विजयी टीमका लागि जर्सी नम्बर ७ का खेलाडी मिक्की मगरले खेलको ६६ औं मिटनमा एक गोल गरेका थिए । उनले गरेको एक मात्र गोल नै टीमलाई जिताउन प्रयाप्त रह्यो ।
चारनाथ युवा क्लब विरेन्द्रबजारको आयोजनामा भएको सो उदघाटन खेलमा तेमाल फुटबल क्लब काभ र बेलस्रोत युवा क्लब उदयपुरबीच भएको थियो । उदयपुरले गोल गर्ने धेरै अवसर पाए पनि गोलमा परिणत गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ ।
खेलको म्यान अफ दि म्याच पनि काभ्रेका मिक्की मगरलाई घोषित भए । उनलाई म्यान अफ दि म्याचको ट्रफी तथा नगद १५ सय रुपैयाँले स्थानीय समाजसेवी इन्द्रदेव यादवले सम्मान गरेका थिए ।
गणेशमान चारनाथ नगरपालिकाका नगरप्रमुख रामबाबू यादवले खेलको उद्घाटन गर्नुभएको थियो । खेलमा स्थानीय खेलप्रेमीको उत्साहजनक उपस्थिति थियो ।
प्रतियोगितामा तेमाल फुटबल क्बल काभ्र्रे, बेलस्रोत युवा क्लब उदयपुर, बर्जु युवा क्लब सुनसरी, जनसेवी युवा क्लब महोत्तरी, सहयोगी युवा क्लब बारा, शिवशक्ति युवा क्लब सिन्धुली, सलहेश युवा क्लब सिरहा र आयोजक गरी आठ वटा फुटबल टीमले सहभागिता रहने छ ।
प्रतियोगिताका विजयी टीमले नगद ५१ हजार, ट्रफी तथा प्रमाणपत्र पाउने छ भने उपविजेता टीमका लागि नगद ३१ हजार, ट्रफी तथा प्रमाणपत्रको व्यवस्था रहेको आयोजक तथा चारनाथ युवा क्लबका अध्यक्ष सन्तोष जैसवालले बताउनुभयो ।
यस ठाउँमा बिगत ३० वर्षदेखि प्रत्येक सालको इन्द्र पुजाको अवसर फुटबल प्रतियोगिता हुँदै आएको छ । जिल्लामा सबभन्दाबढी फुटबलका दर्शक पनि यहीँ जम्मा हुने गरेको छ ।
