जनकपुरधाम- जनकपुरधाममा दिगो विकास लक्ष्यको लागि खुला तथ्याङ्क बारे एकदिने कार्यशाला गोष्ठी सम्पन भएको छ।
शनिबार जनकपुरधाममा जनकपुर आर्ट एण्ड क्राफ्टको आयोजना र ओपेन नोलेज नेपालको सहकार्यमा एक दिवसीय कार्यशाला भएको हो । डाटा अभियान अन्तर्गत विभिन्न क्षेत्रका ३६ जना युवालाई प्रशिक्षण दिइएको आयोजक संस्थाका संयोजक अशोक साहले जानकारी दिए । खुला तथ्याङ्कले तथ्यमा रहेर काम गर्न पोख्त बनाउने र यस कार्यशलाले सहभागीको व्यक्तित्व विकास हुने उनले विश्वास व्यक्त गरे ।




प्रशिक्षणमा युवाहरुलाई मुद्दा पहिचान, समस्या सम्बोधन, समस्या समाधान र तथ्याङ्क संकलन बारे ओपेन नोलेज नेपालका सिइओ निकेश बलामीले प्रशिक्षण दिएका थिए। कार्यशालामा सहभागी मध्येहरुबाट ६ वटा समुह निर्माण गरी समाजको मुदा पहिचान गरी तथ्याङ्किय दृष्टिकोणले अभ्यास गराइएको थियो।
अभ्यासका क्रममा उत्कृष्ट तिनवटा समुहलाई आयोजक संस्थाले रु.१५ हजार नगदले पुरुस्कृत गरेका थिए भने सहभागी सबैलाई प्रमाण पत्र प्रदान गरिएको थियो।
कार्यशालाबाट उठाइएको तीन वटा मुद्दामा सहभागी युवाहरुले आगामी दिनमा काम गर्ने छन् । ओपेन नोलेज नेपालका जेम्स श्रेष्ठले खुला डाटा बारे संक्षिप्त जानकारी गराएका थिए भने समिक्षा खड्काले सहजिकरण गरेका थिए। उक्त कार्यशालामा युकेआईडि , द एसिया फाउन्डेसन र डाटा फर डिभ्लपमेन्ट नेपालको समेत सहकार्य रहेको थियो।




