धनुषा- होली पर्वको अवसरमा जनकपुरधाममा आयोजित महामुर्ख सम्मेलनमा यस वर्षको महामुर्खको उपाधी मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई प्रदान गरिएको छ।
मिथिला नाटयकला परिषद (मिनाप) जनकपुरधामले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामुर्ख सम्मेलनबाट सभामुख मण्डललाई महामुर्खको उपाधि प्रदान गरिएको हो ।

सभामुख मण्डलले मैथिली भाषा र साहित्य उत्थानमा महत्वपूणर् योगदान पुर्याइ रहेको भन्दै महामुर्खको सम्मान प्रदान गरिएको मिनापले जनाएको छ ।
आकर्षण ब्यङ्गात्मक माला, टोपी, होरीमा बजाइने डम्फा, सम्मान पत्र र मायाको चिनो सहित सभामुख मण्डललाई सो सम्मान प्रदान गरिएको हो ।
त्यसैगरी समारोहमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने अन्य १३ मान पदवीमा यस वर्ष पटमुर्खको उपाधि मधेश सरकार अर्थमन्त्रालयका सचिव शुभाषचन्द्र शिवाकोटी र मुर्ख महामण्डलेश्वरको उपाधि कथाकार प्रेम विदेह ललनलाई प्रदान गरिएको छ ।
त्यस्तै सदाबहार मुर्खको उपाधि प्रअ महाविर दास, बैशाखानन्दनको उपाधि अभियानी दिनेश पुर्वे, साहित्यकार नित्यानन्द मण्डललाई खेसारीलाल, दाता परिवार शुभाषचन्द्र साहलाई स्थाई मुर्ख, ग्रामिण परवाहा स्थित युवा नाट्य परिषदलाई निर्विकल्प मुर्ख र महोत्तरी पिपरा नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेलाई दिलतोरियाको उपाधि प्रदान गरिएको छ ।
यसका आलावा हरिप्रियाको उपाधि मिथिला चित्रकार सुधिरा कणर्, लोहाशंकरको उपाधि क्रिकेटर हरिशंकर साह, बुरिराजको उपाधि योग गुरु विमल पण्डित, बज्रकिटको उपाधि योगेन्द्र पण्डित र सोटाचन्दको उपाधि अनिकेत अग्रवाललाई प्रदान गरिएको छ ।




मैथिली भाषा, साहित्य, कला, गित संगीत र नाटय क्षेत्रमा काम गर्दै आएको मिनापले २८ वर्ष देखि होरी महोत्सव र महामुर्ख सम्मेलन गरि होलीमा दुई दिवसीय कार्यक्रम गर्दै आएको छ ।
मिनापले मिथिला क्षेत्रवाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई हरेक बर्ष छनौट गरेर महामुर्ख सहित विभिन्न व्यंगात्मक पदवी वाट समाजिक सम्मान गर्ने चलन छ । जुन मिथिला क्षेत्रमा चर्चीत छन् ।
मिथिलामा वसन्त पंचमीको आगमनसंगै होली गित गाउन शुरु गरिन्छ । तर अहिले आएर ग्रामीण इलाकामा फागु गित गाउनेमा कमी हुन थालेपछि लोपोन्मुख फागु गीतलाई जगेर्ना गर्ने मिनापले विगत तीन दशक देखि होरी महोत्सवको आयोजन गर्दै आएको छ ।
फागुपूणर्िमाको पूर्वसन्ध्यामा आयोजना हुने दुई दिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ । मिनाप महासचिव शैलेन्द्र मल्लिकले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न होली महोत्सव आयोजना गरिएको बताए ।




