काठमाडौं । उपनिर्वाचनको उम्मेदवार चयनमा अनिर्णित बन्दै गएको नेपाली कांग्रेसले आज पनि बैठक बोलाएको छ । यसअघि दुई दिनसम्म बसेको बैठकले उमेद्वारबारे निर्णय गर्न नसकेपछि आज पुन बैठक बोलाइएको हो ।
बैठक बिहान ९ बजे सभापति शेरवहादुर देउवा(Sher Bahadur Deuba)को निवास बूढानिलकण्ठमा बस्नेछ । उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन सभापति देउवा तीन दिनदेखि नियमित छलफलमा छन् ।इलाम-२ र बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को मतभेद देखिएको छ ।



इलाम(Ilam)- २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच कसलाई बनाउने भन्नेमा नेतृत्व विभाजित बन्दा कांग्रेसलाई उमेद्वार टुंगो लगाउन सकस भएको हो ।सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने नेता शेखर कोइरालापक्षले आचार्यको नाममा अडान लिएको छ ।
यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहबीच कसलाई बनाउने भन्नेमा नेताहरुबीच विवाद छ । देउवाले सिंह र कोइरालापक्षले जोशीको नाममा अडान लिइरहेका छन् । कांग्रेस सह-महामन्त्री बद्री पाण्डेले आज बिहान उम्मेदवारका आकांक्षी र सम्बन्धित जिल्लाका नेतासँग छलफल गरेर टुंगोमा पुग्ने बताए ।




