
जनकपुरधाम - धनुषाको मिथिला नगरपालिकाको ढल्केवरमा स्थापना भएको मालपोत र नापी कार्यालय सञ्चालनमा आउने भएकाे छ । शनिवार मध्यरातमा जनकपुरधाम स्थित भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयबाट मोठश्रेस्ता लगायतका आवश्यक कागजातहरु ढल्केवर ल्याएपछि कार्यालय सञ्चालन आउने सुनिश्चित भएको छ।
ढल्केबरमा ६ महिना अगाडि मालपोत कार्यालयको स्थापना भएको भएपनि भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरले आवश्यक कागजात उपलब्ध नगराउँदा यहाँको कार्यालय कहिले देखि सञ्चालनमा अन्यौल अवस्था रहेको थियो। मालपोत कार्यालय ढल्केबरका प्रमुख अर्जुनकुमार मण्डलले भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरले मोठ स्रेस्ता लगायतका आवश्यक कागजात आइतबार उपलब्ध गराएको बताए । आवश्यक कागजात उपलब्ध भएपछि यहाँको कार्यालय सञ्चालनमा आउने निश्चित भएको उहाँले जानकारी दिए। कागजात ल्याउन स्थानीय प्रशासनले सहयोग गरेका थिए ।
प्रहरीको स्कटिङमा कागजातहरु ढल्केवर ल्याइएको हो । ढल्केवरमा मालपोत कार्यालय स्थापना भएयता जनकपुरधामका लेखापढी व्यवसायीहरु आन्दोलित बनेका थिए । उनीहरु विभिन्न नारवाजी गर्दै निरन्तर आन्दोलन र प्रदर्शन गर्दै आएका थिए । उनीहरुको विरोधका बाबजुद प्रहरीप्रशासनको सहयोगमा मोठश्रेष्ताहरु ढल्केवर ल्याइएको हो । कार्यालय प्रमुख मण्डलले कागजातहरू आइपुगेको बताउँदै सम्भवतः आगामी साताबाट सेवा सुचारु गर्ने बताए ।उनले भने, "कागजातहरू व्यवस्थित गर्दैछौं । सम्भवतः एक साताको समय लाग्छ त्यतिजेञ्लसम्म सेवा बन्द रहन्छ ।
सेवाग्राहीलाई झन्झट रहित छिटोछरितो सेवा प्रवाह गर्छौँ ।" उहाँका अनुसार मालपोत र नापी कार्यालय ढल्केवरमा साबिकका गाविसहरू ढल्केवर, बेङ्गाडाबर, तुलसी, हरिहरपुर, नकटाझिज, भुचक्रपुर, शान्तिपुर, गोदार, भरतपुर, रघुनाथपुर लगायत हालका तीन वटा स्थानीय तह मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र बटेश्वर गाउँपालिका क्षेत्रका मोठ स्रेस्ताहरू ल्याइएको छ । २०७२ असोज १४ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले धनुषाको ढल्केबरमा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार २०७३ माघमा यहाँ नापी कार्यालय स्थापना गरिएपनि मालपोत कार्यालय स्थापना हुन सकेको थिएन । सोही कारण नापी कार्यालय स्थापना भएको सात वर्ष हुँदासम्म कार्यालयको कामकाज सुरु हुनसकेको थिएन । करिब छ महिनाअघि ढल्केबरमा मालपोत कार्यालयको स्थापना भएसँगै सञ्चालनमा ल्याउनका लागि प्रयास सुरु भएको थियो । मालपोत कार्यालयको स्थापना गर्न तथा मालपोत र नापी कार्यालयको मोठ स्रेस्ता ल्याउन मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोको विशेष सक्रियता रहेको थियो ।
मालपोत र नापीको ढल्केवर कार्यालयमा कागजात आइसकेपछि मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो खुशी व्यक्त गरेका छन् । मध्यरातमा फेसबुक स्टाट्स लेख्दै उनले आज मिथिला नगरपालिकाको लागि शुभदिन भएको प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, ‘मिथिला नगरपालिकाको लागि आज शुभदिन । जय मिथिला ।’