जनकपुरधाम- मुलुकलाई समृद्ध बनाउनका लागि पर्यटन क्षेत्रको विकास गर्ने तर्फ केन्द्रित हुनु आवश्यक रहेको एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेश प्रदेशको आयोजना गरिएको पर्या पर्यटन प्रवर्द्धन अबलोकन तथा प्रचार प्रसार कार्यक्रममा बोल्दै वक्ताहरुले पर्यटनको प्रचुर सम्भावना बोकेको मधेस प्रदेशमा हरेक क्षेत्रबाट पर्यटन क्षेत्रको विकासका लागि अग्रसर हुनुपर्नेमा जोड दिए ।
प्राकृतिक सौन्दर्यता, भौगोलिक विविधता, सांस्कृतिक तथा धार्मिक दृष्टिकोणले समृद्ध प्रदेश मधेस रहेकाले मधेसमा समेत पर्यटनको प्रचुर सम्भावना रहेको उनीहरुको भनाइ थियो ।
मधेसको पर्यटन विकासका लागि होटेल व्यवसाय दिगो हुनु पनि आवश्यक रहेको उनीहरुले बताए । यद्यपि सरकारको ध्यान होटेल व्यवसायलाई थप सुदृढ पार्ने तर्फ नरहेको होटेल व्यवसायीहरुको रहेको थियो ।
कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिका नगर प्रमुख राजन पौडेलले आफुहरु नगरस्तर बाट होटेल व्यवसायलाई सुदृढ पार्न बजेट छुट्याएको जानकारी दिए । यद्यपि अख्तियारले जे मा पनि डण्डा चलाउँदा यस्ता योजनाहरु चलाउन गार्हो हुने गरेको उनको भनाइ थियो ।
उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव सुशील साहले मधेसको पर्यटन क्षेत्रलाइ बढावा दिन मधेस सरकार गम्भीर रहेको दावी गरे । उनले यसका लागि बजेट पनि पर्याप्त छुट्याइने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घका प्रदेश अध्यक्ष हिरालाल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा होटल व्यवसायी विजय झुनझुनवाला, महासङ्घका महासचिव बैकुण्ठ सापकोटा , नेपाल होटेल तथा पर्यटन व्यवसायी संघ उपाध्यक्ष सुरेन्द्र भण्डारी लगायतको उपस्थिति रहेको थियो ।