काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिदै छन् । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनु परेको हो ।
सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्रील यो कार्यकालमा चौथोपटक विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले बिहान १० बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।कांग्रेसले भने संसद बैठक अवरोध गर्ने बताएको छ ।
प्रतिपक्षीको अवरोधका कारण प्रधानमन्त्रीले विश्वासको मत लिने कार्य प्रभावित हुने सम्भावना बढेको छ । आज बस्ने संसद बैठकअघि संसदीय छानबिन समिति गठन नगरे संसद बैठक अवरोध हुने कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् ।
कांग्रेसले गृहमन्त्री रवि लामिछानेले सहकारीमा गरेको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध जारी राख्ने बताउदै आएको छ ।