
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विपक्षी दलको बैठक बोलाएको छ ।
विपक्षी दलको बैठक संसद् भवनमा केही बेरमा बस्ने बताइएको छ । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेतालाई बोलाइएको कांग्रेसले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लाग्दै गर्दा विपक्षी दलहरुको बैठक बस्न लागेको हो ।
कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।
सत्तापक्षले भने विपक्षीले भनेजस्तो समिति गठन नगर्ने अडान राखेपछि कांग्रेसले विपक्षी दलसँग छलफल गर्न लागेको हो । समिति गठनमा सरकार उदाशिन देखिए प्रधानमन्त्रीलाई विश्वासको मत लिन नदिने कांग्रेसले चेतावनी दिँदै आएको छ ।