जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका सहित मधेश प्रदेशको १२ वटा पालिकामा महिलाहरुको आर्थिक तथा सामाजिक अवस्थामा सुधार गर्नका लागि “सशक्त महिला समृद्ध नेपाल” अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने भएको छ ।
यूरोपियन यूनियनको आर्थिक सहयोग तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, अन्तर्राष्ट्रिय श्रम संगठन, यूनिसेफ र यूएनओम्यानको समन्वयमा मधेश प्रदेशको १२ पालिकाहरुमा अभियान सञ्चालनमा आएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका मधेश प्रदेशका प्रमुख डा. नरेन्द्र कुमार मिश्रले जानकारी दिनु भएको छ । अभियान चार वर्षसम्म सञ्चालन हुने सो अभियान अन्तर्गत महिलालाई आत्म निर्भर बन्नका लागि विभिन्न प्रकारको सहयोग गर्ने भएको छ ।
यस कार्यक्रम अन्तर्गत मधेश प्रदेशका जिल्लाहरुमा महिला तथा बालवालिकाको मुद्दाहरुको संबोधनका साथै आर्थिक सशक्तीकरणका विभिन्न क्षेत्रमा सघाउने काम गर्नेछ ।
जनकपुरधाम उपमहानगरपालिकाको सवै वडाहरुमा यो कार्यक्रम लाईफ नेपालको सहयोगमा सञ्चालनमा आएको छ । कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा जानकारी दिनका लागि उपमहानगरपालिकाका सम्पूणर् पदाधिकारी सहित विभिन्न शाखाका प्रमुखहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न आज सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका महिला तथा वालवालिकाहरुको आर्थिक तथा सामाजिक विकास मार्फत नेतृत्व क्षमताको विकासका लागि सवै वडामा सञ्चालन हुने सशक्त महिला तथा समृद्ध नेपाल अभियानलाई सफल बनाउनका लागि आग्रह गर्नु भयो ।
उहाँले जनकपुरधाम उपमहानगरपालिकामा कूल कर्मचारी मध्ये ४० प्रतिशत महिलाहरु भएको बताउदै उपमहानगरपालिकाले यस कार्यक्रमलाई सफाईसंग जोडेर महिलाको आय आर्जनको कार्यमा बृद्धि गर्नका लागि सुझाव पनि दिनु भयो । सभापतिको आसनवाट बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले महिलाहरुको अर्थपूणर् सहभागिता समृद्ध जनकपुरधामको कल्पना गर्न नसकिने बताउनु भयो ।
कार्यक्रममा यूनिसेफका प्रमुख अनिता दहाल, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, मधेश प्रदेशका खेलकूद तथा समाज कल्याण मन्त्रालयका उपसचिव देव कुमारी खत्री सहितका वक्ताहरुले कार्यक्रमले जनकपुरधाम उपमहानगरका महिला तथा वालवालिकाको अवस्थामा सुधार ल्याउने बताउनु भयो ।
२०७८ को जनगणना अनुसार जनकपुरधाम उपमहानगरपालिकामा ३७.५ प्रतिशत किशोरीको १५ देखि १७ वर्ष उमेरमा विवाह हुने गरेको छ भने ३२.६ प्रतिशत किशोरीहरूका १८ देखि २० वर्षको उमेरमा विवाह हुने गरेको पाईएको छ ।
उपमहानगरपालिका क्षेत्रमा ६८.४ प्रतिशतले मात्रै जन्मदर्ता बनाउने गरेको र जनकपुरधामको ७६.६ प्रतिशत साक्षरतादर रहेको तथ्याङ्क युनिसेफका कामदेव खनालले प्रस्तुत विवरणमा उल्लेख रहेको छ । अभिमुखिकरण कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु सहभागि रहनु भएको छ ।